aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

होटल हायातमा शेयर अनुपात बढाउन लबिङ

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २५ मंसिर २०७६
होटल हायातमा शेयर अनुपात बढाउन लबिङ

काठमाडौं । सरकारको समेत स्वामित्व रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (होटल हायात) मा तारागाउँ विकास समितिकोे शेयर अनुपात वृद्धि गर्न सञ्चालक समितिमा छलफल भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले समितिको शेयरको अनुपात साविकको २२ दशमलव ६७ प्रतिशत यथावत् राख्नुपर्ने धारणा मंगलवारको बैठकमा राखेका हुन् । उनी कम्पनी सञ्चालक समितिमा सरकारका प्रतिनिधि हुन् । 

उनले समितिको हिस्साको हकप्रद शेयर लिन होटल सञ्चालक समितिबाट सरकारमा पुनः अनुरोध गर्नुपर्ने अडान बैठकमा राखेका छन् । पछिल्लो समय होटल हायातमा समितिको शेयर अनुपात साविकको २२ दशमलव ६७ प्रतिशतबाट घटेर ९ दशमलव १ प्रतिशत पुगेको छ । शेयर अनुपात घटेको भन्दै समितिको तर्फबाट सञ्चालक समितिमा एक जनाको मात्रै प्रतिनिधित्व हुने व्यवस्था छ । 

अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा सरकारी पक्षबाट तीनै जनाको प्रतिनिधित्व हुनपर्ने प्रस्ताव गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । तारागाउँ रिजेन्सी होटल्समा यसअघि समितिका अध्यक्ष, पर्यटन मन्त्रालयका सहसचिव र समितिका सञ्चालक सदस्य गरी ३ जनाले प्रतिनिधित्व गर्ने प्रावधान थियो । यस्तै, समितिले प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समितिबाट तारागाउँ विकास समितिका सम्बन्धमा भएको अध्ययन अनुगमन सम्बन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनुपर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्र लगायतको कार्ययोजना शीघ्र कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन् । समितिले होटल हायातमा गरेको लगानी र प्रतिफलको विश्लेषण गर्नुपर्ने र होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण गर्नुपर्ने अडान अध्यक्ष न्यौपानेले राखेका छन् । 

समितिले होटललाई भाडामा दिएको जग्गाको समयसापेक्ष पुनः मूल्यांकन हुनुपर्ने अडान पनि राखेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद शेयर, लगानी र प्रतिफल लगायतका विषयमा अध्यक्ष न्यौपानले ६ बुँदे ‘फरक मत’ राखेका थिए । 

प्रतिक्रिया दिनुहोस