
काठमाडौं । लागु औषधको ट्रान्जिट पइन्ट बन्दै छ नेपाल । यसको पछिल्लो उदाहरण देशका विभिन्न स्थानबाट सयौं केजी लागु औषध ओसार पसार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ । सोमबार मात्रै पर्साको पटेर्वा सुगौली गाउँपालिका१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० केजी सहित वैशाख १० गते उनकै घरबाट प्रहरीले पक्राउ गर्यो ।
काठमाडौं कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ का ३९ वर्षीय देवकुमार घिसिङ र सिन्धुली कमलामाई नगरपालिका२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठलाई गाँजा ५० किलो सहित बैशाख ३ गते लाजिम्पाटबाट प्रहरीले पक्राउ गर्यो । रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट करिब ३० किलो अवैध लागूऔषध चरेश सहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ फागुन ५ गते पक्राउ परे । सहनी, घिसिङ, श्रेष्ठ, स्याङ्तान र तामाङ जस्तै लागूऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न व्यक्तिहरु पछिल्लो समय ठूलो संख्यामा पक्राउ परेका छन् ।
कार्यक्रम लागू भएपछि लागूऔषध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको प्रहरीले जनाएको छ । गत ८ महिनाको अवधिमा लागूऔषध प्रयोगकर्ता, कारोवारी तथा ओसारपसारमा संलग्न ३ हजार ७ सय ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ हजार ५ सय ७७ जना पुरुष र १ सय ८७ जना महिला रहेका छन् । कूल पक्राउमध्ये १ सय २९ जना विदेशी नागरिक छन् । सो अवधिमा २ हजार ४ सय ४५ मुद्धा दर्ता भएका छन् ।
सो अवधिमा ४ हजार ६ सय ३७ केजी ६ सय २४ ग्राम गाँजा, २ हजार ६७ केजी चरेश, ८ केजी २२ ग्राम हेरोइन, ५ केजी ७ सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ । साइकोट्रोपिक्स औषधी लागूऔषध अन्तर्गत १ लाख ८० हजार २ सय १३ ट्याब्लेट, १ लाख ४७ हजार ९ सय ७२ एम्पुल, २ हजार ५ सय ९१ कोरेक्स, १ हजार ४ सय २२ डाईलेक्स, ७ सय ३५ एम्फेटामाईन, २ सय ७८ फेन्सिडेल, ८१ पोल्याण्ड,३१ प्रोजिन, १८ डिआर रेड्डिस, ८५ पिस सिरिन्ज, ५ कोडिन, ६ डिकफ, १ सय ४० ऐटेन, २ सय २० ग्राम मेटाफेटामाईन, २ सय ९९ अनरेक्स, ५६ लाब्रोटी, २२ प्रोमिथाईजेन र २ सय १० केजी भाङ समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
प्रविधिको विकासले विश्व एक गाँउ बनेको छ । संगठित एवं अन्तर्राष्ट्रिय गिरोहको सञ्जालले लागूऔषध कारोबार नियन्त्रणमा समस्या छ । विकास र शान्तिमा नकारात्मक असर पार्ने र विकृति फैलाउने यस कार्यलाई रोकी दुर्व्यसनमुक्त समाज निर्माण गर्नु चुनौती थपिएको छ । यस समस्या र निराकरण सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भने “लागूऔषध दूर्व्यसन, यसको कारोबार, ओसारपसार, अन्तर्राष्ट्रिय समस्याको रुपमा देखा परेको छ ।
यसलाई निराकरण गर्न नेपाल प्रहरीले विभिन्न उपाय अपनाउँदै आएको छ । यस क्रममा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा सेवन न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ । समुदायसँग निकट भएपछि कारोबारको सूचना आइरहेकोले कारोबारीलाई स्रोतमै समात्न सफल भएका छौं ।”
साथै चुनौति सामना गर्दै लागूऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागूऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुको साथै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियान २०७५ शुरु गरेको छ ।
विद्यमान कानुनलाई अभियानकै रुपमा लिएर नेपाल प्रहरी लागूऔषध कारोबार, प्रयोग र दुर्व्यसनी नियन्त्रण गर्न सक्रिय भई लागेको छ । प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी भने, “प्रहरीको विशेष अभियान र कानुन कार्यान्वयनलाई अझ सशक्त बनाउने प्रहरी महानिरीक्षकज्यूको निर्देशनले यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ र ठूलो मात्रामा लागूऔषध बरामद भइरहेको छ ।” लागूऔषधको ओसारपसार, खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्तिको कारण कारोबार बढ्नु प्रमुख कारण हो । लागूऔषध व्यवसाय र प्रयोग हुने ठाउँहरु पहिचान गरी प्रहरीले ती क्षेत्रमा कारवाही तीव्र पारेको छ ।
ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सीमितता नै नियन्त्रणका चुनौती हुन । चुनौति र समाधानका सम्बन्धमा लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाई भने, “गाँजा चरेश पहाडी भागमा आँफै उम्रन्छन । खुल्ला सीमानाको कारण तस्करले कारोवार गर्ने विभिन्न उपाय अपनाउँछन । यस्ता चुनौति समाधान गर्न ब्यूरोले सीमित साधनस्रोत र जनशक्तिको उच्चतम प्रयोग गरी काम गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी सम्झौताको परिधिमा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय गरी काम भइरहेको छ । गोष्ठी सेमिनारबाट दक्षता हासिल गर्दै दक्ष कुकुर समेतको प्रयोगबाट अनुसन्धानमा सफलता प्राप्त हुँदै आएको छ ।”
गलत तरिकाबाट अर्थोपार्जन गर्ने उद्धेश्यले लागूऔषध ओसारपसार तथा गैरकानुनी कार्य भइरहेको देखिन्छ । लागूऔषधले पार्ने असरका बारेमा परिवार, समाज तथा विद्यालयबाट उचित मार्गदर्शनको अभाव र साथीहरुको लहैलहैमा लागेर लागूऔषधको दुर्व्यसनीमा फसेको पाइन्छ ।
यस्ता विविध कारणलाई नियन्त्रण गर्न एवं सभ्य, सुसंस्कृत समाज निर्माण गर्न नेपाल प्रहरीले देशभरिनै समुदाय(प्रहरी साझेदारी कार्यक्रम मार्फत टोलटोलमा समूह, उपसमूह खडा गरी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । गैरकानुनी काम गरेमा कारवाहीको साथै आर्थिक प्रलोभनमा परी वा अन्य जुनसुकै कारणबाट पनि यस्ता काम गर्न नहुने सन्देश दिन सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस