काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले मुग्लिन–पोखरा सडकको स्तरोन्नतिसहित चार परियोजनाका लागि ३५ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभबीच मंगलवार त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । कुल रकममध्ये मुग्लिन–पोखरा सडकको स्तरोन्नतिका लागि मात्रै १९ करोड ५० लाख अमेरिकी डलर खर्च गरिनेछ ।
साढे ९३ किलोमीटर सडक विस्तार गर्ने लक्ष्यका साथ सरकारले लिएको उक्त ऋण ३२ वर्षका लागि १ दशमलव ५ प्रतिशत ब्याजमा लिइएको हो । ऋण सम्झौतासँग अब साढे एक लेनको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा चौडा गरिनेछ । अब बन्ने उक्त सडक खण्ड एशियाली राजमार्ग मापदण्डअनुसार निर्माण हुनेछ । पोखरा–मुग्लिन सडकको स्तरोन्नतिका लागि २५ करोड ४० लाख अमेरिकी डलर (झन्डै २९ अर्ब रुपैयाँ) लागत लाग्नेछ । एडीबीको ऋण सहयोगबाहेक सो सडकको स्तरोन्नतिमा नेपाल सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहनेछ ।
उक्त सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छ । यो खण्डमा ६७ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह छ । सडक चार लेनमा चौडा गर्दा सो जलविद्युत् गृहमा क्षति पुग्ने सम्भावनालाई ध्यानमा राखी जलविद्युत् गृहलाई सुरक्षित गर्न मस्र्याङ्दी नदीको दुवै किनारबाट सडक चौडा गर्ने सडक विभाग आयोजना निर्देशनालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस