aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पैसाकाे अभावमा सुत्केरी पत्नि अस्पतालमै बन्धक, भिख माग्न थाले पति

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, २६ मंसिर २०७६
पैसाकाे अभावमा सुत्केरी पत्नि अस्पतालमै बन्धक, भिख माग्न थाले पति

विराटनगर । सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खगले विराटनगरपस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन्।

एकमहिने सुत्केरी ललिताका पति गोकुलकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन्। विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्याइएको थियो।

पत्नीको उपचारमा अहिलेसम्म दुई लाख बढी खर्च गरिसके पनि नवजात जुम्ल्याहा मध्य एककाे मृत्यु भइसकेको र अर्की शिशुकाे घरमा अरुले नै हेरचाह गिरहे गोकुलकुमारले बताए।

 

ललिता दलित खत्वे समुदायकी हुन् । उनका पति गोपी मजदुरी गरेर जीविकोपार्जन गर्छन् । ललितालाई सुत्केरीका लागि गत कात्तिक २३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । चार दिनपछि उनलाई विराटनगर रेफर गरिएको थियो । गोपीका अनुसार विराटनगरमा पहिले म्याक्स अस्पतालमा भर्ना गरियो । त्यहाँ एक दिन राखेपछि उपचार सम्भव नभएको अस्पतालले बतायो । त्यसपछि विराटनगरकै जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा लगियो । सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई थप उपचारका लागि विराटनगर अस्पताल प्रालिको आईसीयूमा भर्ना गरिएको थियो । ट्रमा सेन्टरको एनआईसीयूमा राखिएकै बेला दुई नवजात छोरीमध्ये एकको मृत्यु भएको गोपीले बताए । अर्की शिशु स्वस्थ छिन् ।

गोपीका अनुसार ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरी १ लाख ७४ हजार रुपैयाँ उनले बुझाएका थिए । ३२ हजार ७ सय ५० रुपैयाँ औषधिबापत खर्च भएको थियो ।
‘मैले काम गर्ने साहु तथा गाउँका अन्य व्यक्तिसित ऋण लिएर ट्रमा सेन्टरमा उपचार गर्दा र औषधिमा लागेको खर्च बुझाएँ र छोरीलाई ल्याएँ,’ गोपीले भने । उनले विराटनगरमा आमासँगै राखेर छोरीको हेरचाह गर्न सक्ने अवस्था नरहेपछि घर ल्याइएको बताए । ‘घरमा अरू भए पनि नवजात शिशुलाई आमाभन्दा टाढा राख्दा गाह्रो पर्ने रहेछ,’ उनले भने ।

विराटनगर अस्पतालमा रहेकी ललिता निको भइसकेकी छन् । तर डिस्चार्ज हुन अस्पतालमा उपचारबापत लागेको खर्च ३ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । ‘बिल तिर्न नसक्दा अस्पताल प्रशासनले आउन दिएको छैन,’ गोपीले भने, ‘ऋण गरेर ट्रमा सेन्टरमा दुई लाखभन्दा बढी बुझाइसकें । अब साढे तीन लाख कसरी जुटाऊँ ।’

प्रतिक्रिया दिनुहोस