aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

होटेल तथा रेस्टुराँमा १४ अर्ब ७३ करोड लगानी गर्ने लगानीकर्ताकाे प्रतिबद्धता

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, २७ मंसिर २०७६
होटेल तथा रेस्टुराँमा १४ अर्ब ७३ करोड लगानी गर्ने लगानीकर्ताकाे प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ५ महीनामै होटेल तथा रेस्टुराँमा रू. १४ अर्ब ७३ करोड लगानी गर्ने प्रतिबद्धता आएको छ । चालू आवको मंसिर तेस्रो हप्तासम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीकर्ताले होटेल/रेस्टुराँ तथा क्यासिनो गरी ६३ ओटा व्यवसायमा उक्त लगानी गर्नेगरी व्यावसायिक प्रतिष्ठान दर्ता गरेका छन् । व्यवसाय दर्ता गर्नेहरूमा ५२ विदेशी लगानीकर्ता र ११ स्वदेशी लगानीकर्ता छन् । अधिकांश लगानीकर्ताको छनोटमा पर्यटन क्षेत्रका चर्चित गन्तव्यहरू काठमाडौं र पोखरा नै पर्ने गरेका छन् ।

विभागको तथ्यांकअनुसार काठमाडौंमा ४४, कास्की (पोखरा)मा ८, ललितपुर ५, चितवन २ र अन्य झापा, रूपन्देही, बाँके र बारामा भने १/१ ओटा होटेल तथा रेस्टुराँ दर्ता भएका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी हुँदा पनि अन्य पर्यटकीय गन्तव्यमा होटेल तथा रेस्टुराँ व्यवसाय विस्तार हुन नसकेको देखिन्छ । दर्ता भएकामध्ये झापा र बाँकेमा एक÷एकओटा कम्पनीमार्फत रू. २५/२५ करोडको लगानीमा क्यासिनो व्यवसाय सञ्चालन गर्नेगरी विभागमा दर्ता भएको छ ।

झन्डै ५ महीनाको अवधिमा दर्ता भएका पर्यटनसम्बद्ध व्यवसाय र प्रस्तावित लगानी उच्च भए पनि लगानीकर्ता अन्य क्षेत्रमा आकर्षित हुन नसक्नुको मुख्य कारण नीतिगत स्पष्टता नहुनु भएको बताउँछन् पर्यटन व्यवसायीहरू । होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह लगानीकर्ताले लगानीको सुरक्षा हेरी लगानी गर्ने तर्क गर्छन् । ‘काठमाडौं सबै दृष्टिले सहज स्थान हो,’ उनले भने, ‘नेपालमा अन्य पर्यटकीय गन्तव्यमा पनि यस्ता लगानी विस्तार गर्न जरुरी छ, तर यसका लागि सरकारले नीतिगत रूपमा स्पष्ट योजना ल्याउनुपर्छ ।’ 

मुलुकभर पर्यटन लगानीमैत्री वातावरण बनेको दाबी गरिँदै आए पनि होटेल तथा रेस्टुराँमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको रोजाइ तथा आकर्षण काठमाडौंमा नै देखिएको छ । रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समयमा शहरमा ‘रेस्टुराँ कल्चर’ विकास भएको हुँदा मुख्य शहरहरूमै लगानीकर्ता लगानी गर्न इच्छुक देखिएको बताए । ‘काठमाडौं, पोखरा, चितवन, धरान, नेपालगञ्जमा सबैभन्दा बढी रेस्टुराँ खुलेका छन्,’ उनले भने, ‘व्यस्त शहरी जीवनशैलीका कारण होटेल तथा रेस्टुराँहरूमा जानेको संख्या पनि बढेको छ, यसले गर्दा लगानीकर्तालाई शहरलक्षित लगानी गर्न प्रेरित गरेको हो ।

प्रतिक्रिया दिनुहोस