aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

खप्तडमा गडबड : ५२ करोड खर्च भइसक्दा गोरेटो सम्म बनेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
खप्तडमा गडबड : ५२ करोड खर्च भइसक्दा गोरेटो सम्म बनेन

बझाङ । काठमाडौंबाट ०७५ चैत अन्तिम साता खप्तड घुम्न गएको रेखा रावलको परिवार सहस्रलिंग आसपास बाटामा अलपत्र पर्‍यो । बाटामा संकेत चिह्न नभएका कारण उनीहरूले दिनभर हिँड्दा पनि पाटन (मैदान, फाँट) भेट्टाउन सकेनन् ।

राति अबेर आगो बलेको देखेर पछ्याउँदै जाँदा एक जना गोठालाको भैंसीखर्क पुगे । रात त्यहीँ कटाए । भोलिपल्ट तिनै गोठालाले बाटो देखाइदिएपछि बल्ल खप्तड पुगे । ‘अनकन्टार जंगलमा हराइयो भनेर सातो उडिसकेको थियो, रातको समय जंगली जनावरको डर उस्तै, भाग्यले बाँचेर आयौं,’ रेखाले भनिन्, ‘पर्यटकीय गन्तव्यको नारा दिने, एउटा हिँड्ने बाटोसम्म पनि बनाउन नसक्ने, हाम्रो सरकार पनि कस्तो ?’
खप्तड जस्तो चर्चित पर्यटकीय गन्तव्यको यो हालत थाहा पाएपछि हामीले अहिलेसम्म यहाँ भएको लगानी र त्यसको स्थलगत अवस्था खोतल्यौं । सामान्य प्रक्रियाबाट पाउन नसकेपछि सूचनाको हक प्रयोग गरेर नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयसँग खप्तड क्षेत्र पर्यटन विकास समिति स्थापना भएयताका १२ वर्षमा पूर्वाधार विकासमा भएको खर्च विवरण माग्यौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागसँग पछिल्लो एक दशकमा निकुञ्जले खप्तड क्षेत्रमा पूर्वाधार विकासमा गरेको लगानीको विवरण पनि लियौं । यो रिपोर्ट तिनै सूचना र खप्तड क्षेत्रको स्थलगत विश्लेषणमा आधारित छ ।
प्राप्त सूचना विश्लेषण गर्दा खप्तड क्षेत्रको विकासमा भएको लगानीमा अनियमितता भएका अनगिन्ती उदाहरण भेटिए । आव ०७१/७२ सकिने बेला पर्यटन बोर्डले खप्तडको पदमार्गमा ‘ढुंगा बिछ्याउन’ १५ लाख बजेट विनियोजन गरेको रहेछ । १७ असार, ०७२ मा विनियोजित बजेट खर्च गर्ने जिम्मेवारी खप्तड क्षेत्र पर्यटन विकास समितिलाई दिइएको रहेछ ।

समितिका तत्कालीन कार्यकारी निर्देशक यमराज कुँवरले खप्तड राष्ट्रिय निकुञ्जभित्र पदमार्गमा ढुंगा बिछ्याउनु साटो त्यो रकमबाट आफ्नो गृहजिल्ला अछामको साबिक बुढाकोट गाविसमा बनिसकेको बाटो मर्मत गरेको विवरण देखाएछन् । सोही गाविसका नौ जना व्यक्ति रहेको उपभोक्ता समिति गठन गरेको देखाई उनीहरूको किर्ते हस्ताक्षर गरेर रकम निकासा गरिएको रहेछ ।
कुँवरले १८ असार, ०७२ मा बनाएको नक्कली उपभोक्ता समितिले ७ दिनमै बाटो मर्मत गरेको र यसमा १५ लाख खर्च भएको देखाएको रहेछ । कुँवरले योजनालाई खप्तड क्षेत्र पर्यटन विकास समिति र सो उपभोक्ता समितिबीच सम्झौता भएको किर्ते कागज बनाएका रहेछन् । वास्तविकता चाहिँ अछाम घर भएका एक जना प्राविधिक सहायकले कैलालीको लम्कीमा बसेर बाटो मर्मतको इस्टिमेट तयार गरेका थिए । कुँवरले किर्ते योजना बनाएर रकम हिनामिना गरेको उजुरी परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ माघ, ०७३ मा उनलाई पदमुक्त गरेको रहेछ ।
कुँवरले विकास समितिको रकममा अनियमितता गरेको उजुरी परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन टोली गठन गरेको थियो । टोलीले गरेको स्थलगत अनुगमनले व्यापक अनियमितता भएको भेटाएपछि कुँवरलाई पदमुक्त गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खप्तड क्षेत्र पर्यटन विकास समितिले आव ०६५/६६ देखि ०७४/७५ सम्म खप्तड क्षेत्रमा गोरेटो/घोडेटो र पदमार्ग निर्माण तथा मर्मत गर्न १२ करोड ६६ लाख खर्च गरेको छ । पर्यटन बोर्डको विवरणअनुसार बोर्डले आव ०६५/६६ देखि ०७५/७६ सम्म यस कामका लागि ४६ लाख २४ हजार खर्च गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमार्फत खप्तड राष्ट्रिय निकुञ्जले यही कामका लागि आव ०६६/६७ देखि ०७४/७५ सम्म २२ लाख १० हजार खर्चिएको पाइयो । यी विवरणबाट खप्तड क्षेत्रको गोरेटो, घोडेटो निर्माण र मर्मतका लागि पछिल्लो १२ वर्षमा १३ करोड ३४ लाख ३४ हजार खर्च भएको देखिन्छ । पदमार्ग बनाउन यतिविघ्न पैसा खर्च गरिए पनि खप्तडमा पर्यटकलाई घुम्न न सजिलो बाटो छ, न त बाटो देखाउने कुनै संकेत चिह्नको व्यवस्था नै । पर्यटक दैनिकजसो जंगल र पाटनमा हराउँछन् । ०७६ असोज दोस्रो साता खप्तड बाबा आश्रमको दर्शन गरेर त्रिवेणी स्नान गर्न ओरालो लागेका काठमाडौं कोटेश्वरका संयोग थापासहित १७ जनाको टोली ६ घण्टासम्म पाटनमा हराएको थियो । खप्तडमा होटल सञ्चालन गर्ने व्यक्तिले आश्रमबाट १५ मिनेटमै त्रिवेणी भेटिने र त्यहाँ स्नान गरेपछि १० मिनेटमै होटल आइपुगिने भनेर दिएको सूचनाका आधारमा चिया मात्रै पिएर बिहान ८ बजे घुम्न निस्किएका उनीहरू दिनभर भोक, प्यास र थकानले लखतरान परे ।

प्रतिक्रिया दिनुहोस