
बारा । बाराबाट काठमाडौँका लागि आउँदै गरेको बस चितवनको रत्ननगरमा पल्टिँदा २२ यात्रु घाईते भएका छन् ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा गएराति पौने ११ बजे ना ७ ख ४७५५ नम्बरको बस अनियन्त्रित भएर राजमार्गमा पल्टिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ४ जनाको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानरकारी दिएको छ ।
उपचाररत ४ घाइतेहरुमा बारा कलैया–२ का वर्ष ३५ को गौरीशंकर यादव र वर्ष २४ को रामबाबु यादव छन् । बारा गढीमाई नगरपालिका–१ का ४४ वर्षीय मनोज साह र भारत मोतिहारी बस्ने वर्ष १८ का खुसीलाल यादवको पनि उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय रत्ननगरले जनाए अनुसार उक्त बसमा ४२ यात्रु सवार थिए । सवार २२ जना घाइते भए पनि अन्य २० जना यात्रु गन्तव्यतर्फ लागेका छन् ।
घाइते २२ मध्ये १८ जनाको टाँडीमा रहेको बकुल्लहर सरकारी अस्पतालमा उपचार भएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेका कारण सबै डिष्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस