aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महानगरपालिकाले २५ औं महानगर दिवस भव्यताकासाथ मनाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
महानगरपालिकाले २५ औं महानगर दिवस भव्यताकासाथ मनाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भोलि र पर्सि (मंसिर २८ र २९ गते) विभिन्न कार्यक्रम गरी भब्यताकासाथ मनाउने भएको छ ।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरका प्रमुख एवं महानगर दिवस मुल समारोह समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले दिवसका कार्यक्रम बारे जानकारी दिने क्रममा भने — नगरबासीका बीचमा बसेर महानगर दिवस मनाउने गरी कार्यक्रम तय गरिएको छ । यो दिवसलाई हरेक नगरबासीले आफ्नो दिवस भएको अनुभूति गर्न सक्नुहोस् । उनले थप्दै भने — हाम्रा कार्यक्रममा परम्परागत बाद्यबादन, बाद्यबादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुठी तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता हुनेछ । 

मेयर शाक्यले — स्थानीयबासीका प्राप्त भएका सुझावका आधारमा हरेक बर्षका कार्यक्रमलाई जनअपेक्षाबमोजिम सुधार गदैै लगिने बताए । 

भोलि बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल ¥याली हुनेछ भने दिउँसो १ बजे रामहिटीमा रहेको नवनिर्मित दमकल भवनको उद्घाटन गरिनेछ । दिवसका अवसरमा आयोजना हुने कार्यक्रमबा बारेमा जानकारी दिँदै मेयर शाक्यलेभने — भोलि र पर्सि बसन्तपुरमा फोटो प्रदर्शनी, महानगरबाट तालिम पाएका स्थानीय साना उद्यमीहरुबाट तयार पारिएका बस्तु तथा सामाग्रीको प्रदर्शनी र मौलिक खाद्यबस्तुको प्रदर्शनी एवं बिक्री गरिनेछ । यसको व्यवस्थापन खर्च महानगरले गर्नेछ भने त्यसबाट प्राप्त आम्दानी सहभागी आफैंले लैजान पाउनेछन् । 
महानगर दिवसमा स्थानीयको आकर्षण बढाउन यसो गरिएको हो । उहाँका अनुसार दुवै दिन मध्यान्न बसन्तपुरमा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । 

दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा कविता, निबन्ध तथा खेलकुद उपसमिति गठन गरिएको र ती समितिले आफ्ना—आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको मेयर शाक्यको भनाइ थियो । 

महानगर दिवसको उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुठि, खड्गी समुदायका ६० गुठि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिने छ । त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारी लगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । 

त्यसैगरी १० जना पत्रकारलाई वितरण गरिँदै आएको महानगर सुशासन पत्रकारिता पुरस्कारलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै महानगर दिवसका अवसरमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ ।

दिवसले आपसी सद्भाव र आत्मीयतामा बृद्धि होस् भन्ने भन्ने उद्देश्यले आज जनप्रतिनिधि र कर्मचारीकाबीच डोरी तान्ने र घैंटो फोड्ने प्रतियोगिता हुँदैछ । त्यस्तै महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता हुनेछ ।

दिवसको अवसर पारेर सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा हुँदैछ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो । 


 

प्रतिक्रिया दिनुहोस