aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफलपछि समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको हो ।

समितिमा भएको छलफलमा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ, यसका लागि डकुमेण्ट संकलन गरिरहेको छ ।’

समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन भनेको छ । साथै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

यसअघि संसदको राज्य व्यवस्था समितिले पनि सरकारलाई लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस