काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा १० करोड ५६ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्थ मन्त्रालयका उपसचिव बस्नेतमाथि आफ्नो र जेठानको नाममा सम्पत्ति लुकाएको आरोप छ । अख्तियारले उनीमाथि १७ लाख रुपैंया घुस लिएको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ ।
बस्नेतमाथि मुद्दा जाने निश्चित भइसकेपछि केही दिनअघि अर्थ मन्त्रालयले बस्नेतलाई तातोपानी भन्सारबाट मन्त्रालयमा तानेको थियो । बस्नेतले ९ करोड २१ लाख रुपैंया संखुवासभाको खाँदवारीमा बस्ने जेठान नविनकुमार गौलीको खातामा लुकाएको आरोप लगाएको छ । बस्नेतले आफ्नो नाममा लुकाएको १ करोड ३५ लाख रुपैंयासमेत गैरकानुनी भएको अख्तियारको दावी छ ।
२०४५ सालमा लेखापाल भएर सेवा प्रवेश गरेका बस्नेत अहिले उपसचिव छन् । विभिन्न स्रोतबाट १ करोड ७८ लाख रुपैंया आर्जन गरेका उनले त्यसको ६ गुणा बढी रकम गैरकानुनी आर्जन गरेको अख्तियारको दावी छ । आफ्नै खाताबाट उनले ३ करोड १३ लाख खर्च गरी एक करोड ३५ लाख अस्वाभाविक आर्जन गरेको पुष्टि गरेको अख्तियारको दावी छ ।
भन्सार छुटाउने क्रममा व्यापारी, व्यवसायी र भन्सार एजेन्टसँग घुस लिएको उजुरीमाथि छानविन हुदा बस्नेतले उक्त रकम जेठान नविनकुमार गौलीको खातामा लुकाएको अख्तियारको भनाई छ । अनि जेठानले खरिद गरेको सम्पत्ति बस्नेतले बकसको रुपमा लिने गरेको अख्तियारको दावी छ । उनीहरुको जग्गा, होटल व्यवसाय र अन्यत्र पनि लगानी रहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस