aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अतिरिक्त शुल्क फिर्ता भएन

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, २८ मंसिर २०७६
अतिरिक्त शुल्क फिर्ता भएन

काठमाडौं । मेडिकल कलेजले एमबीबीएस र बीडीएस पढाइमा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न अझै चासो दिएका छैनन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कलेज सञ्चालकलाई मन्त्रालयमै बोलाएर मंसिर १० गते मध्यरात शुल्क फिर्ता वा समायोजनमध्ये एक गर्ने प्रतिबद्धता जनाउन लगाएका थिए। शुल्क फिर्ता वा समायोजन प्रक्रियामा नगए कारबाही गर्ने चेतावनीपछि उनीहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुल्कका विषयमा सहमति भइसकेकाले अभिभावक तथा विद्यार्थी जागरुक भएर सम्बन्धित कलेजमा सम्पर्क गर्नुपर्ने बताए। ‘मंसिर १० को सम्झौताले सबै कुरा स्पष्ट पारेको छ’, प्रवक्ता शर्माले भने, ‘सोही सम्झौताअनुसार सम्बन्धित कलेजमा सम्पर्क गर्न विद्यार्थी र अभिभावकलाई अनुरोध गर्छु।’

तीन साता अवधिमा भैरहवाका नेसनल र युनिभर्सल मेडिकल कलेजमा मात्र शुल्क फिर्ता वा समायोजन जुन उपयुक्त हुन्छ त्यही गर्ने सहमति भएको छ। शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीको रोहबरमा तीन दिनअघि विद्यार्थी र व्यवस्थापनबीच सहमति भएको हो। केसीका अनुसार विद्यार्थीसँग अतिरिक्त शीर्षकमा लिएकामध्ये पढाइ पूरा नभएका विद्यार्थीसँग अघिल्लो वर्ष लिइएको शुल्कलाई अर्को वर्षको पढाइमा समायोजन गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस