aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जग्गा नपाउँदा दूरसञ्चार प्राधिकरणको एमडीएम प्रणालीको काम रोकियो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २९ मंसिर २०७६
जग्गा नपाउँदा दूरसञ्चार प्राधिकरणको एमडीएम प्रणालीको काम रोकियो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारले दिने भनेको रेडियो नेपालको खुमलटारमा रहेको ४२ रोपनी जग्गा हस्तान्तरणमा भएको ढिलाइले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को काम रोकिएको छ । मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले प्राधिकरणलाई उक्त जग्गा दिने निर्णय गरेको थियो तर, सो निर्णय भएको झन्डै दुई महीना बितिसक्दा पनि सम्बन्धित निकायले कुनै चासो नदिँदा एमडीएम सिस्टम, डेटा सेन्टर सञ्चालनमा ढिलाइ हुने भएको हो । 

ललितपुरको खुमलटारको ४२ रोपनी जग्गामा मोबाइल फोनलाई ट्रयाक गर्ने र दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र डेटा सेन्टर गरी ६५ करोड रुपैयाँको पूर्वाधार निर्माण गर्ने तयारी प्राधिकरणको छ । आगामी ४ महीनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस) सञ्चालन गर्ने तयारी प्राधिकरणको थियो । तर, सरकारले दिने भनिएको जग्गा प्राधिकरणलाई हस्तान्तरण प्रक्रिया अभैm शुरू भएको छैन् । मन्त्रिपरिषद् बैठकले सो ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रति आना ४० लाख रुपैयाँको दरमा दिने निर्णय गरेको थियो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जग्गा प्राधिकरणको नाममा हस्तान्तरण गर्न ढिलाइ भइरहेको बताए ।

‘जग्गा दिने बित्तिकै प्राधिकरणले पैसा दिन्छ,’ अध्यक्ष खनालले भने, ‘प्राधिकरणले सो जग्गाकोे कागजपत्र पाउन बितिकै आप्mनो नाममा हस्तान्तरण गरेर जग्गामा एमडीएमएस सिस्टम कन्टेनर राख्ने छौं’ । हाल रेडियो नेपालसँग ४२ रोपनीमध्ये २७ रोपनी जग्गाको मात्र लालपुर्जा छ ।  

प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो नेपाललाई उक्त जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन पत्राचार गरिएको बताए । प्राधिकरणका एक अधिकारीले सरकारको निर्णयानुसार रेडियो नेपाललाई जग्गा उपलब्ध गराउन पत्राचार गरिए पनि त्यसबारेमा रेडिया नेपालले औपचारिक रूपमा केही बताएको छैन । ‘हामीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जग्गा दिनेबारेमा पत्र आएको थियो, सोहीअनुसार रेडियो नेपाललाई पत्र पठाइसकेका छौं, तर रेडियो नेपालले जानकारी दिएको छैन,’ उनले बताए । 

प्रतिक्रिया दिनुहोस