काठमाडौँ । ‘प्रिय (डियर) लक्ष्मी, एक करोड यूएस डलर चिठ्ठा परेकामा बधाई छ’ भाइबरबाट यस्तो सूचना आएपछि नयाँ बानेश्वर निवासी लक्ष्मी राईका लागि खुसीको सीमा रहेन । भाइबर अपलोड गरेको हप्ता दिन नबित्दै यस्तो खबर पाउँदा सामान्य गृहिणी राईले आफ्नो भाग्य चम्किएको अनुभूति गिरन । अज्ञात व्यक्तिको निर्देशन अनुसार, उनले चिठ्ठा रकम प्राप्त गर्न बैङ्क खाता खोल्नेदेखि राजस्व शुल्कका नाममा एक लाख भारु आईएमई गरी भारत पठाइन् ।
यतिको शुल्क तिर्दा पनि चिठ्ठा वापतको रकम पाउनु त कता हो कता उल्टै खातामा रहेको रकमसमेत अर्कैले निकालेको चाल पाएपछि भने उनका लागि भाइबरमा आएको सूचना खुसीमा नभई पीडामा परिवर्तन भयो ।
त्यस्तै मखनमा सैलुन पसल सञ्चालन गर्दै आएका प्रवीन ठाकुरलाई पनि तीन महिनाअघि इमोबाट यस्तै सूचना आयो । अज्ञात व्यक्तिले अङ्ग्रेजी भाषामा पठाएको सूचना पढ्न उहाँले अर्कैको सहयोग लिनुपर्ने बाध्यता प¥यो । इमोको सूचना अनुसार ठाकुरलाई सुरुमा एक सय डलर जम्मा गर्न लगाइएको थियो । उनले भने,‘‘पसलको भाडा तिर्न बाँकी राखी एक सय डलर बेलायतमा रहेको अज्ञात व्यक्तिलाई आईएमई गरी पठाइदिएँ । ’’
त्यसपछि पनि चिठ्ठाको रकम भारतमा रोकियो भनेपछि सोही निर्देशन अनुसार थप ५० हजार भारु मुम्बईमा रहेको अर्को व्यक्तिलाई आईएमई गरी पठइदिए । चिठ्ठा कुर्दा कुर्दै ऋण लाग्यो तर नगद आएन । पीडित ठाकुर भन्छन् , “नमज्जाले ठगिएँछु । ” सामाजिक सञ्जाल भाइबर, वाट्सएप, इमो, फेसबुक र इमेल प्रयोग गरी अनलाइन चिठ्ठाका नाममा शान्ति राई र प्रवीन ठाकुरजस्तै १४ जना पीडितहरू आफू ठगिएको उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगेका छन् ।
अपराध महाशाखाका अनुसार, चिठ्ठा ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ । यो समूहले यसअघि कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याक गरी चार करोडभन्दा बढी रकम झिकेको थियो । विशेष गरी सामाजिक सञ्जालबाट साथी बन्नेहरू बढी ठगिएका छन् ।
प्रतिक्रिया दिनुहोस