aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गण्डकी प्रदेशको विद्युत् चुहावट ७.९ प्रतिशतमा झारिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
गण्डकी प्रदेशको विद्युत् चुहावट ७.९ प्रतिशतमा झारिने

पोखरा । नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेशमा अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई  ७.९ प्रतिशतमा झार्ने भएको छ ।  प्राधिकरणले गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरालाई गत आर्थिक वर्ष (आव) २०७५/७६मा १०.४३ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालू आवमा ७.९  प्रतिशतमा झार्ने लक्ष्य दिएको हो । चालु आवको पहिलो चारमहिनामा  कार्यालयको औसत विद्युत् चुहावट ९.२ प्रतिशत छ । 
प्रादेशिक कार्यालय पोखरा मातहत गण्डकी प्रदेशमा पर्ने ११ जिल्लाका १३ वितरण केन्द्रहरु छन् । कार्यलयअन्तर्गतका ग्राहकको संख्या तीन लाख ७० हजार छ । यस प्रदेशमा ७६ वटा सामुदायिक संस्थाले ८८ हजार ग्राहकलाई सेवा दिइरहेका छन् । 
प्राधिकरणले चालु आवमा २०७६÷७७मा वितरणतर्फको विद्युत् चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५÷७६मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो । 
प्राधिकरणको व्यवस्थापनले शनिबार विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस