aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मार्च पहिलो सातादेखि नारिता दोस्रो सातादेखि क्वाङचाउ

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ३० मंसिर २०७६
मार्च पहिलो सातादेखि नारिता दोस्रो सातादेखि क्वाङचाउ

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै नेपाल वायुसेवा निगमले थप दुई अन्तरराष्ट्रिय गन्तव्यमा आफ्नो सेवा विस्तार गर्दै छ । निगमको मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकले जापानको नारिता तथा चीनको क्वाङचाउमा निगमको उडान शुरू गर्ने निर्णय गरेको छ । निगमको काठमाडौं –नारिता उडान मार्चको पहिलो सातादेखि तथा क्वाङचाउ उडान मार्चको दोस्रो सातादेखि हुनेछ । 

निगमले मंसिरको तेस्रो साता चीनमा उडान गर्न सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) बाट विमान उडान अनुमति (एओसी) प्राप्त गरेको थियो । निगमले चीनमा सेवा विस्तार गर्न सीएएसीसँग गत असारमै उडान अनुमति मागेको थियो । निगमले अनुमति मागेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेशनसँग सम्बद्ध थप कागजात माग गरेको थियो । 

अनुमति दिनुअगाडि निगमको सेफ्टी अडिट गर्ने बताएको सीएएसीले निगमले पेश गरेका थप कागजातको अध्ययनपछि उडान अनुमति दिएको थियो । निगमले पहिलो चरणमा क्वाङचाउ र त्यसपछि चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्र साङहाईमा उडान गर्ने योजना बनाएको छ ।

नेपाल–चीनबीच ५ वर्षपछि गत साउन महीनामा भएको हवाई सेवा सम्झौताको पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा उडान शुरू गर्न थालेका हुन् ।  हवाई सम्झौता पुनरवलोकन पछि नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले गत कात्तिक महीनादेखि चीनको पेचिङमा सातामा तीनओटा, गुयान र चाङसामा एक/एक गरी पाँचओटा उडान शुरू गरिसकेको छ ।

पछिल्लो हवाई सेवा पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा साताको ९८ उडान गर्न सक्नेछन् । यसअघि सातामा ७० उडान मात्रै गर्न पाउने प्रावधान थियो । हाल चीनबाट पाँचओटा विमान कम्पनीले नेपालमा सातामा ५० भन्दा बढी उडान गर्ने गरेका छन् । मंसिरको दोस्रो साता निगमले जापानको नारितामा उडानका लागि भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस