काठमाडौं । पछिल्लो २ वर्षमा जीवन बीमा कम्पनी बढेसँगै बीमा बजारमा सक्रिय बीमा अभिकर्ताको संख्या बढ्दै गएको छ । पहिले इजाजतपत्र लिएकामध्ये अत्यन्त कम अभिकर्ताले मात्र नवीकरण गर्ने गरेकोमा हाल नयाँ इजाजतपत्र लिने र नवीकरण गर्ने दुवैको संख्या बढ्दै गएको बीमा समितिको तथ्यांकले देखाउँछ ।
समितिका अनुसार हाल बजारमा करीब पौने २ लाख अर्थात् १ लाख ७३ हजर ३०८ अभिकर्ता सक्रिय छन् । २०७५ को अन्त्यसम्म कायम अभिकर्तामध्ये ९३ हजार १७३ जनाले इजाजतपत्रको नवीकरण गरेका छन् भने यो वर्ष ८० हजार १३५ जना नयाँ अभिकर्ता थपिएका छन् ।
विसं २०७४ मा ९९ हजार र विसं २०७५ मा १ लाख ४४ हजार बीमा अभिकर्ता सक्रिय थिए, जसअनुसार पछिल्लो समय बीमा अभिकर्ता पेशामा आकर्षण बढ्दै गएको देखिन्छ ।
पछिल्लो २ वर्षमा १० जीवन बीमा कम्पनी थपिँदा पनि अभिकर्ताको संख्या बढेको हो । साथै, बीमा कम्पनीहरूले अभिकर्तालाई कमिशनबाहेकका विदेश भम्रण, स्वदेश भम्रण, विभिन्न उपहारलगायत सुविधा दिँदा पनि यसमा आकर्षण बढेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पनि बीमा अभिकर्ता पेशामा आकर्षण बढ्दै गएको बताए । ‘पछिल्लो समय स्वतःस्फूर्त रूपमा बीमा अभिकर्ताको व्यवसाय गर्छु भन्ने व्यक्ति पनि आउन थालेका छन् । साथै, यसको व्यावसायिक सम्भावनाले पनि आकर्षण बढेकोजस्तो लाग्छ,’ उनले भने, ‘साथै, कम्पनीहरूले पनि व्यवसाय बढाउन अभिकर्ताको संख्या बढाउने जोड दिँदै आएका छन् ।’
बीमा कम्पनीका लागि अभिकर्ता नभई नहुने जनशक्ति हो । आम मानिसलाई बीमा कम्पनीसँग जोड्ने भूमिका नै अभिकर्ताको हुन्छ । अभिकर्ताहरूले विभिन्न ठाउँमा पुगेर आम मानिसको बीमा गराई कम्पनीलाई व्यवसाय दिइरहेका हुन्छन्, त्यसबापत उनीहरूले १० वर्षसम्म बीमितको पहिलो वार्षिक किस्ताबाट २५, दोस्रो किस्ताबाट १५ र त्यसपछिको किस्ताबाट ५ प्रतिशत कमिशन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस