aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

टाइम बमले मधेस अशान्त !

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, ३० मंसिर २०७६
टाइम बमले मधेस अशान्त !

काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए।

शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ। सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन्। मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो। कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो।

टाइम बमले तीनलाई निल्यो

शुक्रबार मध्यरातमा धनुषाको महेन्द्रनगरका राजेश साहको घरमा बम पड्कियो। बिस्फोटमा परेर इन्स्पेक्टर अमिर दाहाल, घरधनी राजेश र उनका स्कूले छोरा आनन्दको ज्यान गयो। प्रहरीसहित चार घाइते भए घटनाले राजेश र प्रहरी इन्स्पेक्टरको घरपरिवार भावविह्वल भएका छन्। गाउँमा सन्नाटा छाएको छ। मृतकको घरमा दुई दिनदेखि चुलोमा आगो बलेको छैन। घरमा बम राखेको सूचना इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गरिएको थियो। सुरक्षाकर्मी राजेशको घर पुग्दा बम बिस्फोट भएको थियो।

घटनामा राजेशका बुबा भिखारी, छोरी अञ्जली, कान्छो छोरो प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भए। स्थानीय सबिता खातुन र अकबर मन्तुरी पनि सामान्य घाइते भए। भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ भने अन्य तीनको धरानमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी, प्रदेश प्रहरी, संघीय इकाई कार्यालय जनकपुरधाम र हेडक्वाटरबाट छुट्टाछुट्टै टोली परिचालित छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी प्रद्युम्न कार्की भन्छन्, ‘बम बिस्फोट गराउने समूहको पहिचान भइसकेको छ।’

राजेशको घरमा टाइम बम राखिएको उनले बताए। कात्तिक २६ गते रौतहटको इसनाथ नगरपालिका ४ स्थित मठिया प्रहरी चौकीमा २६ अज्ञात समूहले बम फालेर भागे। बिस्फोटमा एक प्रहरी जवानलाई बमको छर्रा लागेर घाइते भए।

अपराधी समूहको निशानामा सरकारी कार्यालय

अपराधी समूहले मंसिर २८ गते सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा पनि बम बिस्फोट गरायो। कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा झ्याल र ढोकामा क्षति पुग्यो। बम बिस्फोट गराएको आरोपमा एकजनालाई प्रहरीले गिरफ्तार गर्‍यो।

गत मंसिर १३ गते सिराहाकै धनगढीमाई नगरपालिकाको कार्यालयको ढोकाअघि शंकास्पद झोला देखियो। नगरप्रमुख हरिनारायण चौधरीको कार्यकक्ष रहेको भवनको मूलढोकामै झोलामा बम थियो। नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरे।

प्रतिक्रिया दिनुहोस