
काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जर्बजस्ती करणी अभियोग लागेसँगै सभामुख पदबाट राजिनामा दिएका पीडित पक्षको मुद्दाको साक्षी प्रमाण बुझ्ने प्रक्रिया सुरु भएको छ।
काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दासँग सम्बन्धित पीडित तथा अन्य साझीको बकपत्र गराउने काम न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा आइतबार सुरु भएको थियो । समय अभावका कारण पीडित भनिएकी रोशनी शाहीको बकपत्र सोमबार पनि जारि रहने अदालत श्रोतले बतायो ।
शाहीले बकपत्र दिइरहँदा पुर्पक्ष थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई समेत उपस्थिति गराइएको थियो। शाहीले बोली फेरे पनि औपचारिक रुपमा अदालत प्रमाणका रुपमा पेश गर्न पाएकी थिइनन्। बकपत्र सुरु भएसँगै उनले आफ्नो कुरा भन्ने मौका पाएकी हुन्।
सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन्।
उनले जिल्ला अदालतमा दुईपटक महराले आफूलाई ‘करणी प्रयास गरेको होइन’ भन्न खोजे पनि पीडितको भनाइ राख्ने बेला नभएको भन्दै दिइएको थिएन। उनले उच्च अदालत पाटनसमेत पुगेर आफूमाथि यौनहिंसा नभएको भन्दै निवेदन दिने कोसिस गरेकी थिइन्।
तत्कालनी जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो। महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि ‘कैफियत प्रतिवेदन’ मागउने आदेश मात्र भएको छ।
पटक पटक बयान फेर्दै आएकी शाहीसँगको बकपत्र सकिएपछि मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया सुरु हुनेछ। महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरेको छ।
प्रतिक्रिया दिनुहोस