काठमाडौं। ‘मेरो श्रीमान् (सुप्ले राई) रोजगारीका लागि मलेसिया गएको १० वर्ष भो । दुई वर्षदेखि जिउँदो मरेको केही पत्तो छैन खोजिदिन पर्यो, म कहाँ जाउँ कसलाई भनौँ, यो भनिरहँदा सिन्धुलीकी सविता राईको गला अवरुद्ध मात्रै भएको थिएन आँखाबाट बरबर आँसु बगिरहेको थियो । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग र प्रवासी नेपाली समन्वय समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पीडा सुनाएकी हुन् ।
श्रीमान् सुप्ले मलेसियामा रहेकी फिलिपिन्स महिलासँग विवाह गरेर घरजम गरी बसेकाले सम्पर्कमा नआएको भन्ने सूचना श्रीमती सवितालाई थाहा छ तर कुन ठाउँमा के काम गर्छन् के कस्तो अवस्थामा छन् त्यो पनि थाहा छैन । तीन छोराछोरी र श्रीमतीलाई स्वदेशमा छोडेर उज्ज्वल भविष्यका लागि मलेसिया हानिएका सुप्ले एकाएक सम्पर्कविहीन भएपछि छोरोछोरीको लालनपालनको सम्पूर्ण जिम्मा अहिले सविताको थाप्लोमा छ । काठमाडौंको कोठा भाडा तिर्न नसकेर सडकमा आउनु पर्ने अवस्था आएको भन्दै सविताले भनिन्, मेरो श्रीमान्लाई जसरी हुन्छ
नेपाल झिकाइदिनुहोस् ।
यस्तै गोरखाकी पूजा गुरुङको पीडा त सविताको भन्दा पनि अझै भयावह छ । भर्खर विवाह गरेकी श्रीमतीलाई भविष्यका ठूला सपना बाँडेर छ वर्षअघि साउदी गएका श्रीमान् (गणेश गुरुङ) छ महिनापछि सम्पर्कमै छैन्न । पूजाले श्रीमान्को अवस्थाबारे केही जानकारी नभएकाले उनलाई स्वदेश फर्काउन सरकार र सरोकारवाला निकायसँग सोही कार्यक्रममै अपिल गिरन ।
सविता र पूजा त प्रतिनिधि घटना मात्रै हुन । वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन ।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ वर्ष (सन् २०१३ देखि २०१९ नोभेम्बर)सम्म वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा गएर आफन्त हराएको भन्दै ३८८ जनाले खोजीका लागि उजुरी गरेका थिए । जसमा २३१ जनाको समस्या समाधान भएको र १०४ जनाको प्रक्रियामा रहेको जनाइएको छ । बाँकी ५३ जनाको उजुरीमा उजुर गर्ने व्यक्ति कुनै सम्पर्कमा नै नभएकाले प्रक्रिया नै स्थगित गरिएको उसले जनाएको छ ।
विदेशमा हराएका वा बेपत्ता भएका नेपाली कामदारको देशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रभावित मलेसियामा दुई सय हराएको पाइएको छ । यस्तै साउदी अरबमा ६७ जना, कुवेतमा ४६ जना, संयुक्त अरब इमिरेट्स (यूएई) ३० जना, कतारमा २२ जना र अन्यमा २३ जना हराएको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हराउनुको मुख्य कारण विदेशमा जेलमा पर्नु, परस्त्रीसँग प्रेम सम्बन्धमा हुनु, पारिवारिक मनमुटाव हुनु, विदेशमा मृत्यु हुनु, दुर्घटनामा पर्नु रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस