aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

श्रम स्वीकृतिमा अनलाइन पद्दती : श्रमिकको समस्या जस्ताको तस्तै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०२ पुस २०७६
श्रम स्वीकृतिमा अनलाइन पद्दती : श्रमिकको समस्या जस्ताको तस्तै

काठमाडौं। वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा यति बेथिति छ कि एउटा व्यक्ति श्रम स्वीकृतिका लागि आठ दिनसम्म धाउनुपर्ने बाध्यता छ ।

सात दिनसम्म धाउने भुक्तभोगी हुनु बुटवलका हरिकृष्ण ढुङ्गाना । उनले श्रम स्वीकृतिका लागि एक साता निरन्तर श्रम कार्यालय धाएर मात्रै यो स्वीकृति हात गरे । हरिकृष्ण पहिलो पटक श्रम स्वीकृति लिएर कतार जाँदै छन् । समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा यस्तो स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नभएकोमा उनको आक्रोश पनि थियो ।

श्रम कार्यालयमा कुन देश जाँदा के कस्ता कागजात चाहिन्छ भन्ने जानकारी दिने सूचना डेक्स वा नागरिक बडापत्र नभएकाले हरिकृष्ण जस्ता पहिलो पटक विदेश जानेले सास्ती भोग्नुपरेको छ । पछिल्लो पटकको कानुनी प्रावधानले गर्दा पुनः श्रम स्वीकृति लिएर जानेले पनि यस्तै सास्ती भोग्नुपरेको छ । अहिले त पुरानो राहदानी तथा सम्झौतापत्र पनि पेस गर्नुपर्ने व्यवस्थाले एक दिनमा हुने काममा चार दिन धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
साउदी अरबमा १८ वर्षसम्म काम गरेको अनुभव रहेका पर्वतका विजय अधिकारीले श्रम स्वीकृति लिँदा अहिलेजस्तो सास्ती र झन्झट कहिलै नभएको गुनासो गरे ।

उनले भने, पुरानो सम्झौतापत्र बुझाउनुपर्ने रहेछ, साथमा छैन, कम्पनीबाटै मागेर वैदेशिक रोजगार विभागको इमेलमा पठाउनु पर्दोरहेछ त्यही लिनलाई धाएको तीन दिन भइसकेको पठाएको छैन ।

ताहचल श्रम कार्यालयमा ढुङ्गाना र अधिकारी जस्ता झन्डै एक हजारले श्रम स्वीकृतिका लागि यस्तै सास्ती भोग्ने गरेका छन् । वैदेशिक रोजगार विभागले श्रम कार्यालयमा देखिएको समस्या समाधान गर्न पहल गरिरहेको जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले कानुनका कारण भएको जटिल अवस्थालाई सहज बनाउने सुझाव यसअघि नै मन्त्रालयमा पठाएको जानकारी दिनुभयो ।
‘सीप र रोजगारः आर्थिक समृद्धिको आधार’ भन्ने राष्ट्र नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा कार्यक्रम भइरहेका छन् । आप्रवासी श्रमिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र आप्रवासी श्रमिकको सेवा सुविधाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड बनाइएको भए पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस