aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महानगरबासीलाई सेनाको अस्पतालमा सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ पुस २०७६
महानगरबासीलाई सेनाको अस्पतालमा सेवा

काठमाडौं । रोगहरुको उपचार सेवा र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नेपाली सेनासँग सहकार्य थालनी गरेको छ । नेपाली सेनाद्धारा सञ्चालन गरेको विरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा सञ्चालन जस्ता स्वास्थ्य सेवा प्रदान गर्न भएको सम्झौतामा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले हस्ताक्षर गरेका छन । बुधबार नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको कार्यक्रममा सम्झौता पत्र आदान प्रदान भयो । 

त्यस अवसरमा बोल्दै महानगरका प्रमुख शाक्यले सहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि महानगरले अघि बढाएको साझेदारिताअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए । 

 । यस अघि हामीले सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सम्झौता गरिसकेका छौं । नेपाली सेनासँग यस अघि वृक्षारोपण गरी हरियाली पवद्र्धन गर्नका लागि साझेदारिता भइसकेको छ । नेपाली सेनाले भवन बनाउँदा पहिलो पटक महानगरमा आएर नक्सा स्वीकृति गरेको छ । सहरी व्यवस्थापनका लागि नेपाली सेनासँग भएको दक्षता प्रयोग गर्ने गरी हामीले काम गरिरहेका हौं । उनले थप्दै भने — हामी महानगर अस्पताल खोल्ने योजनामा छौं । त्यो तत्काल सम्भव छैन । त्यसैले अहिले जोसँग बिशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरबासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौं । 

त्यस क्रममा बोल्दै महारथी थापाले — जंगी अड्डाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए । हामी स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार छौं । महानगरबाट थालिएको प्रयास बिस्तार हुँदै जानेछ, उनको विश्वाश थियो । 

सम्झौता बमोजिम पहिलो चरणमा महानगरको भौगोलिक क्षेत्रभित्र भएका सेरा नेगेटिभका विरामीहरुलाई वीरेन्द्र अस्पताल छाउनीबाट हेमोडाईलासिस सेवा उपलब्ध गराउनेछ । यसका लागि महानगरले शुरुमा १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ । 

हेमोडाईलासिसका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ । यसरी माग गरिएको रकम कार्य प्रगतिका आधारमा थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ । तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।

महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ । यस सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ । 


 

प्रतिक्रिया दिनुहोस