aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

३० तोला सुन सहित नेपाल एयरलाईन्सका कर्मचारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
३० तोला सुन सहित नेपाल एयरलाईन्सका कर्मचारी पक्राउ

काठमाडौं । ३० तोला सुन सहित नेपाल एयरलाईन्सका कर्मचारी  पक्राउ परेका छन् । सिराहाको वरापतपाटी-३ घर भई काठमाडौं पेप्सिकोला बस्ने २१ वर्षीय रन्जित कुमार यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ । 

दोहाबाट काठमाडौं आएको नेपाल एयरलाईन्सको फ्लाईटमा अवैध रुपमा सुन लुकाई छिपाई ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सोही फ्लाइटमा आएका शंकास्पद यात्रु सिराहाका २६ वर्षीय धर्मेन्द्र कुमार यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दोहावाट पठाएको सुनको पार्सल जहाजबाट उत्रनासाथ एराइभलमा पुग्नु अगावै फोनबाट सम्पर्कमा आएका व्यक्तिलाई दिएको जानकारी दिएका थिए । 

त्यसको आधारमा उक्त व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा रन्जितलाई नियन्त्रणमा लिई जाँच गर्दा ३ वटा विस्कुटमा रहेको उक्त परिमाणको सुन लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । 

नेपाल एयरलाईन्सको मेन्टेन्नेस ह्यागरमा १ वर्षदेखि काम गर्दै आएका निज यादव र उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरु सम्वन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ । 

त्यस्तैगरि, नक्कली अमेरिकी डलर १ सय दरको १ थान सहित मलेसियन नागरिक राहदानी नम्बर ए ३५३३३४५३७ बाहक ४६ वर्षीय रुवेन दास अरुल  सोमबार दिउसो पक्राउ प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मालिन्डो एयरको उडानद्वारा आएका उनले भिसा दस्तुर बुझाउने क्रममा बैंक काउन्टरमा उक्त नक्कली अमेरिकी डलर दिएकाले बिमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरी बिमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।  
उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको प्रहरीले जारि गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस