काठमाडौं । सरकार र ढुवानी व्यवसायीबीच ढुवानी ब्यवसायलाई भ्याट र ट्रक ढुवानी व्यवुसायलाई प्यानमा दर्ता गरे हुने गरी सहमति भएको छ । बिहीवार भएको सहमतिअनुसार ट्रक, ट्याङ्कर र ट्रिपर लगायतका ढुवानीका साधन सञ्चालन गर्ने व्यवसायीले साधनको ब्लुबूक र नागरिकताका आधारमा स्थायी लेखा नम्बर (प्यान) पाउने छन् ।
सरकार र व्यवसायीको संयुक्त बैठकमा सरकारी पक्ष ब्लुबूक र नागरिकताका आधारमा ढुवानीकर्तालाई प्यान दिन सहमत भएको ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले जानकारी दिए । ढुवानी व्यवसायी र ढुवानीकर्ता दुवै पक्षले बैठकमा २० लाख रुपैयाँभन्दा बढी कारोबार भएमा मूल्य अभिवृद्धि करमा दर्ता हुने प्रतिबद्धता जनाएको उनले बताए । योसँगै देशभरि बन्द रहेको ढुवानी व्यवसाय शुक्रवारदेखि शुरू हुने अपेक्षा गरिएको उनले बताए ।
महासचिव बानियाँका अनुसार ढुवानीकर्ताले अब घरेलु उद्योग वा अन्य कुनै सरकारी कार्यालयमा गएर फर्म दर्ता गर्नु नपर्ने, त्यस्ता ढुवानीकर्ताले ब्लुबूक र नागरिकताका आधारमा ढुवानीका साधनको नम्बर राखेर राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर पाउने भएका छन् । त्यस्तै ढुवानीकर्ताले प्यान नलिउन्जेलसम्मको खर्च पनि भौचरका आधारमा राजस्व कार्यालयले मान्य गर्ने सहमति भएको छ । १ हजारभन्दा माथिको खर्चमा प्यान बिल अनिवार्य छ । बैठकले ढुवानीकर्ताले प्यान दर्ता नगरुन्जेलसम्म टीडीएस तिरेको भौचरका आधारमा खर्च लेख्न पाउने व्यवस्था गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस