
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पु¥याइएको छ । छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी सामाजिक सञ्जालबाट गराएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले तस्वीरहरूसहित "ममीको आयुर्वेदिक ऊपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्ण सँगै हामी।" भन्दै पाेष्ट गरेकी छिन् ।
लामो समयदेखि उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।
सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पिपिडत एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । सीतालाई यसअघि प्रचण्डले उपचारका लागि अमेरिकासमेत लगेका थिए । अमेरिका लैजानुअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर, पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छैन ।
सीताको समस्या के हो ?
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिन्छ ।
नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको छ । त्यसैले सीताको मन बहलाउन प्रचण्डले बेला–बेला विभिन्न ठाउँमा घुमाउन लैजान्छन् । गृहमन्त्री रामबहादुर थापा बादलसहित प्रचण्ड र सीता म्याग्दीको तातोपानी कुण्डमा पुगेर स्नान गरेको तस्वीर समाजिक सञ्जालमा भाइरल भएको थियो ।
छोराको निधन भएपछि उनमा यो समस्या थप बढेको छ । अमेरिका जानु अघि प्रचण्डले भने अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।
पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सीतालाई लागेको प्रचण्डले जानकारी दिएका थिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ लागेको प्रचण्डले बताएका थिए । अमेरिकामा उपचार गरेर आएपनि सीताको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेको थिएन ।
लक्षण कस्तो हुन्छ ?
पीएसपीको समस्या ६० वर्ष उमेर पूरा भएका व्यक्तिहरुलाई बढी हुन्छ । बलिउडका चर्चित हास्य अभिनेता कादर खान पनि पीएसपी समस्याबाट पीडित थिए । क्यानडाको एक अस्पतालमा उपचार गर्दागर्दै गत ३१ डिसेम्बरमा ८१ वर्षको उमेरमा खानको निधन भएको थियो । उनलाई सास लिन गाह्रो हुन्थ्यो ।
यसको लक्षण समय अनुसार गम्भीर हुने गर्छ । सुरुवाती चरणमा यसको लक्षण अन्य रोगजस्तै हुने भएकाले यो रोग पत्ता लगाउन मुश्किल हुन्छ । यद्यपि हिँड्न, डुल्न, बोल्न र निल्न कठिन भएमा, लड्छु कि भन्ने डर लागिरहेमा, व्यवहारमा परिवर्तन आएमा, मांसपेशी कस्सिएमा, आँखाको चाल नियन्त्रणमा नरहेमा र स्मरणशक्ति हराउँदै गएमा पीएसपीको शंका गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस