हेलम्बु । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले आगामी असारभित्र उपत्ययकामा मेलम्चीको पानी पुर्याउने दाबी गरेको छ।
चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा काम अगाडी बढाएपछि आयोजनाले असारलाई नयाँ भाका तय गरेको हो। बाँकी काम सम्पन्न गर्न गर्न गत असोजमा तेस्रो पटक चिनियाँ कम्पनी नियुक्त भएको हो।
आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सरकारले चालू आर्थिक वर्षभित्र उपत्यकामा मेलम्ची पानी पु¥याउने नीति लिएकाले त्यसै अनुसार अघि बढेको बताए।
‘जसरी पनि असारभित्रै मेलम्ची पानी उपत्यकामा पु¥याउँछौँ,’ शुक्रबार आयोजनाको मुहानस्थल हेलम्बु अम्बाथानमा आएका उनले भने। आयोजनामा धेरै विलम्ब भइसकेकाले असारको भाखा नाघ्न दिने पक्षमा आयोजना नरहेको उनले जिकिर गरे।
ठेक्का सम्झौतापछि दुई महिनाअघि आयोजनास्थल छिरेको सिनोले एक महिनादेखि आयोजनाको बाँकी कामलाई तीव्रता दिइरहेको छ। दैनिक तीन सय कामदार र आवश्यक मात्रामा मेशिनरी औजार परिचालन गरेर ठेकेदार कम्पनीले काम गरिरहेको छ।
आयोजनाको मुख्य संरचना साढे २६ किलोमिटर लामो सुरुङमार्ग छेडेको इटालियन ठेकेदार कम्पनी सिएमसीले ठेक्का तोडेपछि बाँकी काम गर्ने जिम्मेवारी सिनोले पाएको हो।
सरकार र सिनो हाइड्रोबीच गत असोजमा सुरुङको बाँकी काम गर्ने मुहानस्थलमा हेडवक्र्स बनाउने दुईटा ठेक्का सम्झौता भएको थियो। ठेक्का लगत्तै आयोजना क्षेत्र प्रवेश गरेको सिनोले नोभेम्बर दोस्रो साताबाट पूर्ण क्षमतामा काम अघि बढाइरहेको दाबी आयोजनाले गरेको छ।
ठेक्का सम्झौता अगाबै काम सके आयोजनाले ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने घोषणासमेत गरेको छ। ‘बोनस दिने घोषणाले ठेकेदार उत्साही छ,’ कार्यकारी निर्देशक खत्रीले भने।
ठेकेदार कम्पनी अनुभवी, दक्ष रहनुका साथै काममा उत्साह देखाएकाले असारमा मेलम्ची पानी उपत्यका पुग्ने विश्वास आयोजनाले गरेको उनले जानकारी दिए। उनका अनुसार ठेक्का अवधिभित्र आयोजनाको काम सम्पन्न नभए ठेकेदारले जरिवाना तिर्ने प्रावधान सम्झौतामै उल्लेख छ। समयमै काम सके उसले कूल ठेक्का रकमको १० प्रतिशत रकम बोनस पाउने छ।
सिनाले मुहानस्थलमा हेडवक्र्स, अस्थायी संरचना कफर्ड ड्यामको काम एकसाथ अघि बढाइरहेको छ भने सुरुङ ढलान (फिनिसिङ) पनि गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस