काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन्।
सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय झापामा विमानस्थल सुरक्षा कार्यालयका एसपी कृष्ण कोइरालालाई पठाइएको छ। कोइरालाको ठाउँमा चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई सरुवा गरिएको छ। यूनएन जगेडामा रहेकी एसपी गंगा पन्तलाई चितवन प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ भने काभ्रेमा एसपी रविकुमार पौडेललाई पठाइएको छ।
रौतहटका एसपी भुपेन्द्र खत्रीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा तानिएको छ। रौतहटमा रविराज खड्कालाई पठाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी सुशिल सिंह राठौर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएका छन्। उनको स्थानमा मकवानपुरका एसपी मुकेश कुमार सिंहलाई ल्याइएको छ। कञ्चनपुरका एसपी दिनेशकुमार आचार्यलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा गरिएको छ। कञ्चनपुरमा प्रहरी प्रधान कार्यालयका एसपी मुकुन्द मरासिनीलाई पठाइएको छ। सिन्धुलीको प्रहरी प्रमुख परिवर्तन गरिएको छ। सिन्धुलीमा प्रहरी मुख्यालयको वैदेशिक समन्वय महाशाखाकी एसपी रन्जु सिग्देललाई पठाइएको छ। सिन्धुलीका तत्कालीन एसपी चक्रबहादुर सिंहलाई सिग्देलको ठाउँमा सरुवा गरिएको छ।
प्रहरी मुख्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको एसपी राजकुमार लम्साललाई यूएन जगेडामा सरुवा गरिएको छ। उनको ठाउँमा जनार्दन जिसीलाई पठाइएको छ। धादिङको एसपी परिवर्तन भएका छन्। उक्त जिल्लामा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसपी रविन्द्र रेग्मीलाई पठाइएको छ। धादिङका तत्कालीन एसपी राजकुमार वैदवार महानगरीय ट्राफिक प्रहरी महाशाखामा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखमा एसपी विश्वमणी पोखरेलको सरुवा भएको छ। धनुषाका एसपी शेखर खनाल प्रहरी महानिरिक्षकको सचिवालयमा पुगेका छन्। धनुषामा रमेशकुमार बस्नेतको सरुवा गरिएको छ। उनी यसअघि सुनसरीस्थित १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी थिए। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख योगबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखामा सरुवा गरिएको छ। उनको स्थानमा श्यामकुमार महतोलाई पठाइएको छ।
प्रतिक्रिया दिनुहोस