काठमाडौँ । नेपालमा उत्पादन भएको विद्युत् चीनले खरिद गर्ने भएको छ। चीनसँगको अन्तर्देशीय लाइन निर्माणपछि चीनले विद्युत् खरिद गर्ने भएको हो। नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड अफ चाइनाको काठमाडौंमा बसेको संयुक्त प्राविधिक समूहको बैठकले प्रसारण लाइनबाट विद्युत् आदानप्रदान गर्ने सहमति गरेको छ।
यसअघि प्रसारण लाइनबाट विद्युत् आयात मात्र गर्ने कि निर्यात पनि भन्ने विषयमा अन्योल कायम थियो। सहमति पत्रमा शनिबार प्रारम्भिक हस्ताक्षर भएसँगै नेपालको विद्युत् चीन निर्यात गर्ने निश्चत भएको रातमाटे-रसुवागढी-केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार चीनले यो प्रसारण लाइनलाई प्राथमिकतामा राखेको छ।
दुई हप्ताभित्र आयोजनाको लोड फ्लो स्टडी सुरु हुने आयोजना प्रमुख आत्रेयले बताए। प्राविधिक समूहले संयुक्त रूपमा लोड फ्लो स्टडी गर्ने सहमति भएको छ,' उनले भने, 'यसको काम दुई हप्ताभित्र सुरु हुन्छ।' सुरुमा सात सय ५० मेगावाट विद्युत् प्रवाह गरेर परीक्षण गरिने छ । यसको काम सकिएपछि डिजाइनको काम सकिन्छ। फिजिबिलिटी अध्ययनको सकिन लोट फ्लो स्टडी गर्नुपर्छ।
यो निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत् बेच्न सकिने छ। नेपालतर्फ चार सय केभी डबल सर्किट र चीनतर्फ पाँच सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ। चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको प्रि-फिजिबिलिटी अध्ययन सकिएको छ।
प्रसारण लाइन पाँच हजार मेगावाट क्षमताको हुने छ। यो प्रसारण लाइनमा दुई सय १४ टावर रहने छन् । सम्भाव्यता अध्ययन तथा वातावरणीय अध्ययनको काम दुई वर्षभित्र सक्नुपर्ने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए। सम्भाव्यता अध्ययनको ड्राफ्ट रिपोर्ट २०७५ चैत ३ गते पेस भएको थियो।
अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिनेस्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउनुपर्ने ठाउँ लगायतको जानकारी समेटिएको छ। नेपालतर्फ रातमाटेमा सबस्टेसन रहने छ भने चीनतर्फ तिब्बतस्थित जिलोङ काउन्टीमा सबस्टेसन राखिने छ । रसुवागढी नाकादेखि रातमाटेसम्मको प्रसारणको दूरी ७० किलोमिटर रहेको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस