aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रविधिमा आधारित वित्तीय तथा आर्थिक अनियमितता र भ्रष्टाचार बढ्याेः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
प्रविधिमा आधारित वित्तीय तथा आर्थिक अनियमितता र भ्रष्टाचार बढ्याेः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता र भ्रष्टाचारजन्य गतिविधि बढेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले वित्तीय अपराधको दायारा बढेको भन्दै यसको नियन्त्रण चुनौती बनेको समेत बताए । यसको न्यूनीकरणका लागि लेखापरीक्षकहरुले ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिएका छन् । 
 
मन्त्री खतिवडाले कम्पनी दर्ता, वासलत तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे । ‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ,’ उनले भने, ‘कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन ।’ 
 
प्रविधिको उपलब्धता, विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि उनले बताए । ‘नयाँ वित्तीय उपकरण बारे लेखापरीक्षकहरु जानकार हुनुपर्छ,’ उनले भने । अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य–मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिल लगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने बताए ।

‘सरकार भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्,’ उनले भने । यसैगरी, कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने पनि उल्लेख गरे । 
 
लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए । ‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने । यसैगरी महालेखापरीक्षक टंकमणि शर्मा दंगालले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए ।

अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रिकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको देखिएको उल्लेख गरे । यसैगरी अन्तर्राष्ट्रिय तहमै सम्पति शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने उल्लेख गरे ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले व्यावसायिक संस्थाहरुको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए । उनले नियमनकारी निकायहरुको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता रहेको पनि औंल्याए ।
 
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेशा र व्यवसायमा नैतिकतामा क्षयीकरण देखिएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे । उनले आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस