aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेकपा भित्र एमसीसीको सकस, हाइ कमाण्डले आत्मसमर्पण गर्ने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
नेकपा भित्र एमसीसीको सकस, हाइ कमाण्डले आत्मसमर्पण गर्ने संकेत

काठमाडौँ। सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई सचिवालयको बैठकमा छलफल गर्न अनुमति दिएको छ । आइतबार सम्पन्न बैठकले सचिवालयको आगामी बैठकमा छलफल गरेर टुंग्याउन अनुमति दिएको हो। 

यो अनुमतिसँगै नेकपा हाइकमान्डले एमसिसी पास गराउन संसद्मा लैजान सक्ने सम्भावना बढेको छ। नेकपा सचिवालयमा रहेका नेताहरू कोही पनि एमसिसीको विपक्षमा नरहेका कारण हाइकमान्डबाटै पारित गराउने रणनीति अख्तियार गरिएको हो।

नेकपा उच्च स्रोतले भन्यो, 'स्थायी कमिटीको बैठकमा सहमति जुटेन । अब हाइकमान्डबाट यसलाई संसद्मा पेस गर्ने निर्णय हुनेछ।' स्थायी कमिटीको बैठकमा सहमति नजुटेपछि सचिवालयको बैठकमा छलफल गरेर टुंग्याउन अनुमति दिएको स्थायी कमिटी सदस्य भीम रावलले बताए। 

उनका अनुसार स्थायी कमिटीका धेरैजसो सदस्यले एमसिसी अमेरिकी रक्षा नीतिअन्तर्गत हो/होइन भन्नेबारे अमेरिकी सरकारसँग नेपाल सरकार स्पष्ट हुनुपर्ने माग गरेपछि बैठकमा सहमति हुन सकेन । त्यसैले सचिवालय सदस्यहरूलाई सहमति गरेर टुंग्याउने जिम्मा दिइएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

स्रोतका अनुसार एमसिसी संसदमा छिटै प्रस्तत गर्नपर्ने भएकाले सचिवालयलाई जिम्मा दिइएको हो । सचिवालय बैठकमा एमसिसीबारे खासै विवाद छैन । नेकपा विदेश विभाग प्रमुख एवं वरिष्ठ नेता माधवकुमार नेपालले यसमा कमीकमजोरी भए सच्याउनुपर्ने बताउँदै आएका छन् भने अन्य नेता मौन छन्।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली जतिसक्दो छिटो एमसिसी संसद्बाट पास गराउन चाहन्छन् । कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहालले नेकपा संसदीय दलको बैठकमा शुक्रबार अमेरिकी रक्षा नीतिअन्तर्गत भए अस्वीकार गरिने बताए पनि स्थायी कमिटीको बैठकमा यसबारे उनी खासै बोलेनन् ।

आइतबारको बैठकमा समापन मन्तव्य दिने क्रममा उनले यो विषय सचिवालय बैठकले टुंगो लगाउने बताएका थिए।


 

प्रतिक्रिया दिनुहोस