aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एनसेललाई कर कार्यालयको कडा चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
एनसेललाई कर कार्यालयको कडा चेतावनी

काठमाडौं । बाह्रौं पटकको बिक्रीमा ठूला करदाता कार्यालयले निर्धारण गरिदिएको पुँजीगत लाभांश कर नबुझाएपछि सरकारले एनसेललाई चेतावनीपूर्ण पत्राचार गरेको छ।

१५ दिनभित्र कर बुझाउनुपर्ने, नबझाए कारबाही प्रक्रिया अघि बढाउने भन्दै ठूला करदाता कार्यालयले एनसेललाई पत्राचार गरेको हो। एनसेललाई ठूला करदाता कार्यालयले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिसकेको छ। 'कर निर्धारण गरेको मितिले एनसेल शुक्रबार सम्पर्कमा आउनुपर्ने थियो तर आएन,' कार्यालयका प्रमुख झलकराम अधिकारीले भने, '१५ दिनभित्र नबुझाए आयकर ऐन, २०५८ को दफा १०४ देखि १०९को कारबाहीका व्यवस्था प्रयोग गर्न बाध्य हुनेछौं भनेर एनसेललाई पत्राचार गरिएको हो ।' 

यी दफामा कर असुल नभए कारोबार रोक्का गर्ने, आयात-निर्यात गर्न नदिने र सम्पत्ति जफत गर्ने सम्मको अधिकार छ। अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले नेपाल सरकारलाई तत्काल कर असुल नगर्ने भन्ने आदेश दिइसकेकाले एनसेलले कर बुझाउन नआएको अनुमान छ। अन्तराष्ट्रिय मध्यस्थकर्ता तथा अन्य कुनै पनि निकायबाट कर असुल नगर्ने भन्ने पत्र पाइनसकेको जनाउँदै असुलीको काम सरु गरिएको ठूला करदाता कार्यालयले जनाएको छ।

विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)ले गत बुधबार कर निर्धारण र असुलीसम्बन्धी पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। ' एनसेलको ८० प्रतिशत लगानीकर्ता आजियाटाले बेबसाइटमा विज्ञप्ति 'प्रकाशन गर्दै आईसीएसआईडीले आफ्नो  पक्षमा फैसला गरेको दाबी गरेको छ।

ठुला करदाता कार्यालयले एनसेललाई कर तिर्न १५ दिनको समय दिई गत मंसिर २० मा पत्र पठाएको थियो। उक्त पत्रमा उसका लागि दिइएको समय शुक्रबार सकिएको छ। सरकारलाई आईसीएसआईडीको पत्र तत्काल प्राप्त नभए पनि आजियाटाले केही दिनमा सरकारलाई अन्तरिम आदेशको पत्र बझाउने अनुमान छ।

सर्वोच्च अदालत र ठूला करदाता कार्यालयमा लाभ करको विवाद चलिरहँदा एनसेलको मात कम्पनी आजियाटाले सन् २०१९ मे २० मा अन्तर्राष्ट्रिय मध्यस्थकर्तालाई निवेदन दिएको थियो । कम्पनीको निवेदनमाथिको प्रक्रिया आईसीएसआईडीले २०१९ अक्टोबर १८ मा सुरु गरेको हो।

आईसीएसआईडीले नेपाल सरकारलाई पत्र लेख्दै विवाद समाधान प्रक्रियामा जान भने पनि नेपाली पक्षले भने उक्त प्रक्रियामा भाग लिन अस्वीकार गरेको थियो । नेपाली अधिकारीको अनुपस्थिति भए पनि मध्यस्थकर्ताले आफ्नो प्रक्रिया अनुसार सुनुवाइ र अन्तरिम आदेश जारी गरेको हो।

आईसीएसआईडीको वेबसाइटमा राखिएको जानकारी अनुसार मध्यस्थताका लागि कोरियन नागरिक जोंगी किमलाई ट्रिब्यूनलको अध्यक्ष नियुक्त गरिएको थियो । एनसेलले आफ्ना तर्फबाट बहसका लागि नेदरल्यान्ड्सका अल्बर्ट जन भान डेन बर्गलाई आर्बित्रेटर  नियुक्त गरेको थियो। नेपाली पक्षले सहभागिता नजनाएपछि, आईसीएसआईडीले नै नेपालका तर्फबाट बहस गर्न अमेरिकी 'नागरिक पल फ्रेडल्यान्डलाई आबिट्टर नियुक्त गरेको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस