aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बसको ठक्करबाट २१ वर्षीया छात्राको मृत्यु, सुकेधारा–चाबहिल क्षेत्र तनावग्रस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
बसको ठक्करबाट २१ वर्षीया छात्राको मृत्यु, सुकेधारा–चाबहिल क्षेत्र तनावग्रस्त

काठमाडौं । बसको ठक्करबाट काठमाडौँको सुकेधारामा एक युवतीको मृत्यु भएको छ । भक्तपुर–काठमाडौँ चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी प्रदीप सिंहले जानकारी दिए ।

सहपाठीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । आगजनीका कारण बस क्षतिग्रस्त बनेको छ । आगजनीको आरोपमा केही विद्यार्थीहरु पक्राउ परेका छन् ।

विद्यार्थीको प्रदर्शनका कारण प्रभावित बनेको सो क्षेत्रको सडकखण्ड सुचारुको प्रयास भइरहेको प्रहरीले जनाएको छ। सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शनबाट सुकेधारा–चाबहिल क्षेत्रमा तनाव भएको छ ।

बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको थियो । 

आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस