aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मलेसियन ठग रेमिटले तिर्यो हिमालयन बैंकलाई ३१ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
मलेसियन ठग रेमिटले तिर्यो हिमालयन बैंकलाई ३१ करोड

काठमाडौँ । नेपाली कामदारले पठाएको रकम अपचलन गरेको मलेसियाली रेमिट कम्पनी मेक्सले बल्ल केही अंश फिर्ता पठाएको छ । मेक्सले हिलायन बैंकलाई ४९ करोड रुपैयाँ तिर्नुपर्नेमा ३१ करोड रुपैयाँ फिर्ता गरेको छ ।

कम्पनीले मलेसियास्थित नेपाली कामदारसँग पैसा पैसा उठाएर लामो समयसम्म पनि नेपाल नपठाएपछि नेपाल राष्ट्र बैंकको पहलमा सो रकम फिर्ता भएको हो ।

हिमालयन बैंकले नेपाल पैसा पठाउने कामदारका आफन्तलाई भुक्तानी दिए पनि मेक्सले हिमालयन बैंकलाई पैसा दिन आनाकानी गरेको थियो । केन्द्रीय बैंकले छलफल गरि सम्बन्धित कम्पनीमार्फत् सो पैसा फिर्ता गराएको हो ।

हिमालयन बैंकले नेपाल राष्ट्र बैंकको रोहवरमा पैसा भुक्तानी दिनुपर्ने र लिनपर्ने कम्पनीबीच सम्झौता गराएको थियो । सम्झौता अनुसार विवाद नभएको ३१ करोड रुपैयाँ मेक्सले नेपाल राष्ट्र बैंक मार्फत पठाएको केन्द्रीय बैंकले एक अधिकारीले बताए । बाँकी रहेको १८ करोड रुपैयाँ विवादित रकम भएको हुनाले विवाद सल्टाउँदै किस्ताबन्दीमा मासिक रूपमा ब्याजसहित भक्तानी दिने सहमतिअनुसार केही समयपछि पठाउने ति अधिकारीको भनाइ छ।

नेपाल राष्ट्र बैंक र मलेसियन सेन्ट्रल बैकको रोहवरमा भएको सम्झौताअनुसार अहिले ३१ करोड रुपैयाँ राष्ट्र बैकको खातामा आएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बताए । सम्झौताअनुसार बाँकी रहेको १८ करोड रुपैयाँ आगामी दिनमा मासिक किस्ताबन्दीमा ब्याजसहित दिने जानकारी दिएको उल्लेख गर्दै उनले भने, “मेक्सले अहिले पठाएको २.७६ अमेरिकन डलर हो ।” यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस