पोखरा । पाहना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीलाई पोखरा क्षेत्रभित्रका पर्यटकीय गन्तव्यसम्म दृष्यावलोकन गर्नेगरी आउजाउ गर्न रोक लगाइएको छ। भारतीय निजी सवारीलाई भने चाहेका गन्तव्यसम्म आउजाउ गर्न अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ।
पर्यटक बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारी सबै गन्तव्यसम्म पुग्दा सडक साँघुरो भएको, ट्राफिक जाम बढेको, दुर्घटना थपिएको साथै महत्त्वपूर्ण गन्तव्य घुम्नै नपाई पर्यटक फर्किने गरेको पर्यटन व्यवसायीको भनाइ छ। पर्यटक बोकेर आएका ती भारतीय सार्वजनिक सवारीले गाइडबिना दृष्यावलोकन गराउने भएकाले पाहुनाले सबै गन्तव्य घुम्नसमेत नपाएको व्यवसायीले बताए।
सवारी चालकको भरमा महत्त्वपूर्ण गन्तव्यमा नपुयाइ एकाध ठाउँमात्र घुमाएर पाहुना फर्काउने गरिएको व्यवसायीको भनाइ छ। नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)का अध्यक्ष बोबरजंग गुरुङले पोखरा भित्रिएका भारतीय सवारी व्यवस्थापन गर्न जरुरी रहेको बताए। 'भारतीय निजी सवारी नेपाल भित्रिएपछि जुनसुकै ठाउँमा आउजाउ गर्न पाउँछन्, निजी सवारीमा घुम्न रोक छैन,' उनले भने, 'तर, भारतीय पाहुना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीले पाहुनालाई होटलसम्म ल्याउन र लैजान पाउनेछन् ।'
स्थानीय गन्तव्यमा दृष्यावलोकनका लागि ती भारतीय सार्वजनिक सवारीलाई प्रयोग गर्न नपाइने उनले बताए। गुरुङका अनुसार पाहुना बोकेर भित्रिने भारतीय सार्वजनिक सवारी ठूला आकारका हुन्छन्। दुई तलासम्मका बस चढेर भारतीय पर्यटक पोखरा भित्रिन्छन् ।
ठूला आकारका ती सवारी यहाँका सडक किनारमा पार्किङ गर्दा र गुडाउँदा साँघुरो हुने गरेको उनले बताए। यसले दुर्घटनासमेत हुने गरेको उनले बताए। 'दुईतले भारतीय बसले त बाटै छेक्छ। सराङकोट जस्तो गन्तव्यमा ती बस जाँदा घण्टौ सडक अवरोध हुन्छ,' उनले भने, 'हामीले ती ठूला आकारका सवारीमात्र जहाँ पायो त्यहाँ नचलाऔं भनेका हौं। ती भारतीय सवारीको सट्टा नेपाली सवारीमा यात्रा गर्दा सहज हुन्छ। निजी सवारीलाई भने कुनै अवरोध हुँदैन।'
सबै ठाउँमा भारतीय सवारीबाट दृष्यावलोकन गराउँदा 'नेपाली व्यवसायीलाई पनि नोक्सान पुगेको उनले बताए। भारतीय सार्वजनिक सवारी चलाउन मात्र रोक्ने हो भने ती पाहुना नेपाली गाडीमा यात्रा गर्नेछन् । त्यसले नेपाली व्यवसायीको पनि आम्दानी बढ्नेछ। महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पनि पाहुनाले घुम्न पाउनेछन्,' उनले भने, 'जहाँ पायो त्यहाँ ठाउँ नपाउँदा भारतीय सवारी गलत दिशामा समेत पार्किङ गरेर राखिने गरिएको छ।'
साना सवारीबाट खासै समस्या नरहेको उनले बताए। 'ठूला आकारका ती सार्वजनिक सवारी हाम्रा साँघुरा सडकमा गुडाउनै उपयुक्त हुँदैन,' उनले भने, 'ठूला सवारी गुडाउँदा सडक पुरै ढाकिने अवस्था आउँछ। भारत र नेपालको सीमा क्षेत्रका पर्यटन व्यवसायीले समेत यसलाई सफल अभ्यास मानेको उनले बताए।
भारतीय सवारी चलाएका चालकले समेत यसलाई सकारात्मक मानेका छन्,' उनले भने, 'रिजर्भ गरेर भित्रिएका ती सार्वजनिक सवारीलाई जबर्जस्ती दृष्यावलोकनमा प्रयोग गर्ने गरिएको छ । साँघुरो र घुमाउरो यहाँका सडकमा सवारी चलाउन कठिन भएको समेत चालकहरूले बताउँदै आएका छन् ।' गुरुङका अनुसार पोखरा भित्रिने भारतीय
पर्यटकमध्ये आधाजति निजी र बाँकी आधा सार्वजनिक सवारीमा आउने गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस