aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राजश्व छल्ने विरुद्ध ११ करोड ८१ लाखकाे मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
राजश्व छल्ने विरुद्ध ११ करोड ८१ लाखकाे मुद्दा

काठमाडौं ।  राजस्व अनुसन्धान विभागले ११ करोड ८१ लाख १६ हजार ७ सय ८५ रुपियाँ राजश्व चुहावट तथा विदेशी बिनिमय अपचलन गर्ने व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरेको छ ।  रुपन्देही जिल्लाको बुटवल नगरपालिका वडा नम्बर १२ स्थित राम टोबाको उद्योग प्रालि समेतलाई राजश्व चुहावट गरेको अभियोगमा १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको  हो ।

 उक्त कम्पनीका सञ्चालक टानबहादुर पाण्डे, कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, श्रवणकुमार बरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेवी शर्मा समेतले उद्योगबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तिजन्य पदार्थहरुको उत्पादन कम राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ । 

श्यामलाल बन्जाडे ट्रेड सेन्टरका प्रोपाइटर श्यामलाल बन्जाडे, जयलक्ष्मी जनरल स्टोर्सका प्रोपाइटर गोपीकृष्ण गैरे, नव अन्नपूर्ण स्टोर्सका प्रोपाइटर रामकुमार जयसवाल, शनी स्टोर्सका प्रोपाइटर नारायणप्रसाद श्रेष्ठ र एलजी ट्रेड सेन्टरका प्रोपाइटर लक्ष्मण ज्ञवाली समेतबाट नेपाल सरकारलाई तिर्नु पर्ने अन्तःशुल्क, आयकर तथा मूल्य अभिबृद्धि कर समेत चुहावट गरेकोले उक्त रकम बिगा दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको विभागले जनाएको छ ।

 त्यस्तै झुठा तथा नक्कली बिजक प्रयोग गरी राजश्व छलि गर्ने रामेछाप घर भई काठमाडौ निवासी न्यू लालीगुराँस इन्टरप्राइजेजका प्रोपाइटर कमलप्रसाद तिवारी समेतले राजश्व चुहावट गरेको अभियोगमा ५९ लाख ३४ हजार ८२८ रुपियाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र ३ बर्षको कैद सजाय माग सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

 तिवारी तथा उक्त फर्मको कारोबारलाई प्रमाणित गर्ने कागजात तथा निजले अनुुन्धान अधिकृत समक्ष गरेको बयानमा इवन इन्टरनेशनल प्रालि लगायत अन्य निम्न आर्थिक अवस्था भएका नेपाली नागरिकहरुको नाममा दर्ता गरिएका ती फर्महरु, सञ्जय साह भनेर चिनिने जयकिशोर साह समेतलाई उल्लेखित कसुरमा मुद्दा दर्ता गरिएको हो । 

त्यसैगरी, भारतीय नागरिक आस्फोयू मिश्रा माथि विदेशी बिनिमय अपचलन गरेको अभियोगमा ४८ लाख ७८ हजार १ सय २० रुपियाँ बिगो कायम गरी बिगोको तीन गुणासम्म जरिवाना माग दाबी सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । काठमाडौँबाट दुबई जान लागेका ती भारतीय नागरिकले साउदी रियाल ५०० दरका ३१८ थानले हुने १ लाख ५९ हजार बरामद गरी विभागमा दाखिला हुन आएको छ । 

उक्त रकमको सम्बन्धमा ती भारतीय नागरिकले गरेको बयानमा उक्त रकमको बैंकले डिक्लरेशन खोजेको हुँदा नेपाल हुँदै दुबई फिर्ता लैजान लागेको अवस्थामा बरामद भएको थियो । 

प्रतिक्रिया दिनुहोस