
काठमाडाैं । प्रहरीले राजधानीका विभिन्न स्थाबाट सोमबार १ सय २२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो। उनीहरूलाई नियन्त्रणमा लिनुका कारण प्रहरीले हालसम्म खुलाएको छैन । अर्थात बिना कुनै अभियोग प्रहरीले अनुसन्धानका लागि भन्दै आशंकाको भरमै नियन्त्रणमा लिएको हो ।
तर चिनियाँ विदेश मन्त्रालयले मंगलबार सीमा अपराध र साइबर क्राइममा संलग्न रहेको अभियोगमा उनीहरु पक्रन दुवै देशको प्रहरीको संयुक्त अपरेसन सञ्चालन गरिएको जानकारी गराएको जनाएकाे छ ।
मंगलबार चीनको विदेश मन्त्रालयले नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसनमा १ सय २२ चिनियाँ नागरिक पक्राउ परेको जानकारी गराएको हो। पक्राउ परेकामाथि ‘क्रसबोर्डर साइबर क्राइम’को अभियोग लागेको चीन सरकारले जनाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले मंगलबार नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त पहलमा उनीहरु पक्राउ परेको उल्लेख गरेका छन्। पक्राउ परेका सबैविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतले ‘अभद्र व्यवहार’ कसूरमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको बताएको थियाे । 'के तपाईँसँग यस विषयमा कुनै विवरण वा टिप्पणीहरू छन्?' भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा प्रवक्ता गेङले भने, ‘मेरो जानकारीअनुसार सीमापार अपराध, साइबर अपराधलगायत कसूरमा उनीहरुलाई पक्राउ गरिएको हो, यो विषय अनुसन्धानका क्रममा छ। यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सञ्चालन गरिएको एक ठूलो अपरेसन हो। हामी नेपालसँग सीमा अपराधविरुद्ध लड्न र दुई मुलुकबीच मैत्रीपूर्ण आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी निरन्तर काम गरिरहनेछौं।’
पक्राउ पर्नेहरू काठमाडौंको महाराजगञ्ज, मनमैजु र बूढानिलकण्ठ लगायतका स्थानहरूबाट सोमबार पक्राउ परेका चिनियाँ नागरिकको अपराधिक क्रियाकलापमा संलग्नता रहेको हुनसक्ने बताएपनि हालसम्म त्यसको विषयमा थप खुलाएको छैन ।
केही समय पहिले बैंकको एटिम ह्याक प्रकरणमा चिनियाँ नागरिकहरूको संलग्नता भेटिएपछि झस्किएको प्रहरीले शंकाका आधारमा त्यति धेरैको संख्यामा नियन्त्रणमा लिएको हो। प्रहरीले वित्तीय अपराध तथा साइबर अपराधमा उनीहरूको संलग्नता हुनसक्ने अनुमान गरेको छ। ‘वित्तीय तथा साइबर अपराधमा संलग्न हुनसक्ने भन्दै उनीहरूलाई पक्राउ गरिएको हो’, नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी विश्वराज पोखरेलले भने, ‘अपराध प्रमाणित भए कानुन अनुसारको दण्ड सजाय हुन्छ नत्र अध्यागमन विभागमार्फत चीन पठाउने व्यवस्था गर्छौं।’
पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौं महानगरीय प्रहरी परिसरका विभिन्न युनिटमा राखि बयान लिने काम भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् । नेपालमा अपराधिक गतिविधि बढ्दै गएपछि प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ। पक्राउ परेका नागरिकमध्ये १ सय १४ पुरुष र बाँकी ८ जना महिला रहेका छन् ।
गत भदौ दोस्रो साता चिनियाँ नागरिकले डेढ करोड रकम चोरेपछि नेपाल प्रहरीले चिनियाँ नागरिकमाथि निगरानी बढाएको हो । पक्राउ परेकाहरूको बयान लिने र डकुमेन्ट सहि छ कि छैन भनेर परीक्षण गरिरहेका छौं । डकुमेन्ट सहि र प्रकृया नमिलेको पाइएमा उनीहरूलाई अध्यागमनमा पठाउछौं’ पोखरेलले भने। पक्राउ परेका नागरिकबाट बरामद भएका कम्प्युटर, मोबाइल तथा अन्य विद्युतीय सामग्री भने सिआइबीले परीक्षण गरिरहेको छ ।
‘वित्तीय तथा सूचना प्रविधिसँग जोडिएको जुनसुकै घटनामा संलग्नता रहेको हुनसक्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । अपराधमा संलग्न रहेको नरहेको बयान लिइसकेपछि थाहा हुन्छ’, प्रवक्ता पोखरेलले भने।
२ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा
नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस