aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

लुम्बिनीमा बिदेशीको यस्तो रहेछ धन्धा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
लुम्बिनीमा बिदेशीको यस्तो रहेछ धन्धा !

लुम्बिनी।बुद्ध जन्मस्थलमा बौद्ध धर्मावलम्बी मुलुकले बनाएका विहार र गम्बाहरू गेस्ट हाउसका रुपमा सञ्चालन भइरहेका छन् । गुरुयोजना अनुसार लुम्बिनी क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित बिहारमा एउटामा १० जना मात्रै बस्न पाउने व्यवस्था भए पनि ६/७ सय जनासम्म पर्यटक राख्ने गरिएको छ। 

केन्द्रीय नहरको दायाँबायाँ करिब तीन दर्जन यस्ता विहार र धर्मशाला छन्। लुम्बिनी विकास कोष ऐन ०४२ र विनियमावली अनुसार एउटा विहारमा पाँच जना भिक्षु र त्यति नै सहायक बस्न पाउने उल्लेख छ। उक्त व्यवस्थाअनुसार कोषको सिफारिसमा विभिन्न मुलुकबाट आउने भिक्षु र सहायकलाई सरकारले एक वर्षको सहलियत भिसा उपलब्ध गराउँदै आएको थियो । 

गत वर्षदेखि त्यसमा कडाइ गरिएको छ। कोषका अनुसार लम्बिनी क्षेत्रमा होटल सञ्चालन नभएका बेला विहारमा पाहुना राख्ने गरिन्थ्यो । सन् १९९८ र २००४ मा आयोजना गरिएको प्रथम र दोस्रो बौद्ध शिखर सम्मेलनका बेला आमन्त्रित राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनालाई विहारमै राखिएको थियो। त्यसयता नियमन गरिएको छैन । 

पहिले पर्यटन पूर्वाधार अभाव देखाउँदै विहारमा पाहुना राखिए। पनि अहिले लम्बिनी क्षेत्रबाहिर सविधासम्पन्न करिब सयवटा होटल निर्माण भइसकेका छन्। चार दशकअघि केन्जो टाँगेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई मिनी बुद्धिस्ट वर्ल्ड' का रूपमा परिकल्पना गरिएको छ। त्यसका लागि लुम्बिनी विकास कोषअन्तर्गत तीन वर्ग माइल क्षेत्रमध्ये एक वर्ग माइल विहारका लागि छुट्याइएको छ। 

विश्वका प्रमुख बुद्धिस्ट राष्ट्रमध्ये एउटा देश वा त्यहाँको एउटा बौद्ध संस्थालाई वास्तुकला र संस्कृति झल्किने शैलीमा विहार निर्माण गर्न दिने गरिएको छ। यसबाट पर्यटकले एकै ठाउँमा विश्वकै बौद्ध संस्कति र कलाबारे ज्ञान प्राप्त गर्न सक्छन् । लुम्बिनीको विकासका लागि ती राष्ट्रको ऐक्यबद्धता जुटाउनु गुरुयोजनाको अर्को महत्त्वपूर्ण पक्ष हो।

यहाँका पर्यटन व्यवसायीले वर्षोंदेखि विहारले गेस्ट हाउस सञ्चालन गर्दा मर्का परेको गुनासो लम्बिनी क्षेत्र विकास कोष, स्थानीय सरकार र संघीय मन्त्रीसमक्ष गर्दै आएका छ । 'बौद्ध धर्म मान्ने मुलुकबाट पर्यटक आउलान् र कमाउँला भन्ने छैन,' लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन श्रेष्ठले भने, 'कहिलेकाहीं झुक्किएर मात्रै बाहिर आइपुग्छन् ।'

उनका अनुसार श्रीलंका, थाइल्यान्ड, चीन, कोरिया, कम्बोडिया, म्यानमार, महाबोधी र विभिन्न नेपाली गुम्बामा पर्यटक राख्ने गरिएको छ । एउटा विहारले दुईदेखि ६/७ सय जना अट्ने कोठा तयार गरेको उनले बताए। विहारमा सम्बन्धित मुलुकबाट सरकारका प्रतिनिधिसमेत आएर बस्छन् । 

विहार क्षेत्र अवलोकन गर्नबाहेक आवासीय क्षेत्रमा सर्वसाधारणको पहुँच हुँदैन । विहार छुट्याएर ती राष्ट्रले आफ्नै शैलीका पाहुना राख्ने घर निर्माण गरेका छन् । विहारले सबै पर्यटकीय सेवा प्रदान गर्दै आएका छन् । विमानस्थलबाट यहाँ ल्याएपछि विहारमा राख्छन्।

आफ्नै पथ प्रदर्शक (गाइड) छन् । खानपिन गराउँछन्, घुमाउँछन् । अधिकांशले चन्दाका रूपमा पर्यटकबाट सेवा शुल्क लिन्छन् । धेरैले कोठा अनुसार असुल्छन् । 'आफ्नो पैसा आफ्नै मुलुक लैजान्छन्,' स्थानीय पथप्रदर्शक प्रहलाद यादवले भने, 'हाम्रो केही काम छैन । केही विहारले एक/दुई जना नेपालीलाई सम्पर्क कर्मचारीका रूपमा राखेका छन् । त्यसबाहेक कर्मचारी आफ्नै मुलुकका राख्ने गरेका छन् । 

विहारमा बढीमा १० जना बस्न मिल्ने भए पनि कोषका कर्मचारी र सम्बन्धित मन्त्रालयले चलखेल गरेर सयौं पर्यटक राख्न दिएको स्थानीयले आरोप लगाए। लुम्बिनी होटल एसोसिएसनले समस्याबारे सर्वपक्षीय बहस चलाउन हेमबहादुर विष्टको संयोजकत्वमा पर्यटन समस्या समाधान समिति गठन गरेको अध्यक्ष श्रेष्ठले बताए। 

उनका अनुसार समितिमा व्यवसायी, स्थानीय अगुवा, शिक्षक, लुम्बिनी सांस्कृतिक नगरपालिका र बुद्धिजीवी सदस्य छन। समितिले कोष र सरोकारवालासित आफना समस्याबारे छलफल गर्नेछ । 'विहारले व्यावसायिक होटल जसरी गेस्ट हाउस चलाएको विषयमा समीक्षा जरुरी भयो,' उनले भने, 'समिति बनाएर अघि बढेका छौं।'

होटल एसोसिएसनले पछिल्लो पटक तयार गरेको लुम्बिनी भ्रमण प्याकेजमा यी विहार र गुम्बालाई समेटेको छ। यहाँ विभिन्न व्यक्ति र बौद्ध संस्थाका नाममा स्थापना भएका नेपाली गुम्बाले पनि पाहुना राख्ने गरेका छन्। त्यस्ता गुम्बामा पाहुना राख्न स्तरीय कोठा बनाइएका छन् । यो  समाचार  आजको  कान्तिपूर  दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस