aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

याे साता मन्त्रिपरिषद्ले गरेका १३ निर्णय यस्ता छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
याे साता मन्त्रिपरिषद्ले गरेका १३ निर्णय यस्ता छन्

 काठमाडाैं । नेपाल सरकारले प्रत्येक विहीबार मन्त्रिपरिषद्रकाे निर्णय सार्वजनिक गर्ने परम्परानुसार गत साेमबार पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् निर्णयः

१. सार्वजनिक खरिद ९ नवौं संशोधन० नियमावली २०७६ स्वीकृत गरिएको छ।

२.सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा वित्तीय संस्था तथा गैरवित्तीय व्यवसाय तथा पेशाकर्मीको क्षेत्रमा नियमनकारी निकाय तोकिएको नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/७/२५ को निर्णयसम्बन्धी सूचना सोही मितिमा नेपाल राजपत्रको अतिरिक्तांक प्रकाशन गर्ने निर्णय गरिएको छ ।

३.साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल र भारत सरकार बीच भएको सम्झौता कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरिएको छ

४.विल्डिङ अ रिसाइलिएन्ट चुरिया रिजन अफ नेपाल परियोजनाका लागि ग्रिन क्लाइमेट फण्डबाट प्राप्त हुने ३९.३ मिलियन अमेरिकी डलर अनुदान सहायता प्राप्तिका लागि एक्रिडिडेड इन्टिटीसँग वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

५. खयरबाट उत्पादन हुने वस्तुको सम्बन्धमा मिति २०७६/३/२ को नेपाल राजपत्रमा प्रकाशित निकासी पैठारीसम्बन्धी सूचित आदेशमा संशोधन गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।

६. उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरी चालू आर्थिक वर्ष २०७६/७७ को खरिद मूल्य प्रति क्विन्टल रु.५३६.५६ निर्धारण गर्न स्वीकृति प्रदान गरिएको छ।

७. हातहतियार खरखजानासम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

८. साइप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्यदूत रामजीवन पन्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गरिएको छ ।

९. हेटौंडा उपमहानगरपालिका, मकवानपुरको स्वामित्वमा रहेको साविक पदमपोखरी–२ हाल हेटौंडा उपमहानगरपालिका वडा नं. १३ कित्ता नं. १०२ क्षेत्रफल ९.१ कठ्ठा जग्गा प्रहरी चौकी पदमपोखरीको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिइएको छ ।

१०. सुरक्षण मुद्रणसम्बन्धी उपकरणहरू (प्रेससम्बन्धी मेशिन, औजार, प्रविधि, प्रणाली तथा अन्य आवश्यक सामग्री र भौतिक निर्माण लगायत) सरकार–सरकार (जि टु जि) माध्यमबाट खरिद गर्ने सम्बन्धमा फ्रान्स सरकार र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (५ख) बमोजिम सरकार–सरकार विधिबाट खरिद गर्ने निर्णय गरिएको छ। यसको बजेट व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ ।

११. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा झापा निवासी श्री डा. चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ।

१२. नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, चापाकोट–६, स्याङ्जा; डा. हरिहर वस्ती, का.म.न.पा.–३१, काठमाडौं; डा. सन्ध्या चापागाई, मध्यपुर ठिमी, भक्तपुर;  डा. सुप्रभात श्रेष्ठ, मोरङ; डा. प्रनित पोखरेल, काठमाडौं  र रजिष्ट्रार पदमा डा. कृष्ण प्रसाद अधिकारी, धुम्बाराही, काठमाडौंलाई मनोनयन गर्ने निर्णय गरिएको छ।

१३. राष्ट्रिय किताबखानामा अद्यावधिक व्यक्तिगत विवरण (पिआइएस) अनुसार कायम भएको पदनामअनुसार समायोजन पत्र दिन स्वीकृति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस