aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यसरी हुँदैछ हाकाहाकी लुट, के यिनलाई दिएकै हो छुट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
यसरी हुँदैछ हाकाहाकी लुट, के यिनलाई दिएकै हो छुट ?

काठमाडौँ। भेरी नगरपालिका-३, पुराना साझाकी सुन्तली थापा निर्धन लघुवित्त संस्थाकी समूह सदस्य छिन् । उनी लघुवित्तको समूहमा बस्न चाहन्नन् । उनले समूहको बैठकमा आफूले समूह छाड्न चाहेको भन्दै अहिलेसम्मका बचत फिर्ता माग्न थालेको दुई महिनाभन्दा बढी भइसक्यो। तर संस्थाका कर्मचारीले उनलाई हाकाकाकी तपाईंको पैसा दिँदैनौं भनिरहेका छन्।

आफूले व्यक्तिगत रूपमा गरेको बचत रकम दर्जनौंपटक फिर्ता माग्न गए पनि संस्थाका कर्मचारीले हप्काएर फर्काउने गरेको सुन्तलीले बताइन्। 'मलाई समूह आवश्यक छैन, मैले मासिक रूपमा जम्मा गरेको २१ हजार पाँच सय रूपैयाँ नियमानुसार पाउँ भन्दा दिदै दिँदैनन्,' थापाले भनिन्, 'कर्मचारीले उल्टै तपाईं जहाँसुकै गएर उजुरी गर्नुस् पैसा दिन्नौं भन्छन् ।'

संस्थामा जाँदा सधैं आफूलाई थर्काउने र अपमान गर्ने गरेको उनले बताइन् । सुन्तली मात्रै होइन, सोही वडाको न्युरोडकी अमृता बुढाको गुनासो पनि उस्तै छ। संस्थाबाट ऋण लिएर बेइमानी गर्ने व्यक्तिलाई देखाउँदै आफूलाई समूह छाड्न र बचत रकम दिन संस्थाका कर्मचारीले अस्वीकार गरेको उनले बताइन् ।

'मान्छेले चाहेमा कस्ता कुरा छाड्न सक्छ, यो समूहमा बस्दिन भन्न नपाउने कस्तो नियम हो ?' अमृताले प्रश्न गरिन्, 'हाम्रो पैसा लिएर फाइदा लिने अनि हामीलाई आफ्नै रकम माग्दा थर्काउने, धम्की दिने! कहाँ गएर न्याय माग्ने ?'

सुन्तली र अमृता मात्र होइन जिल्लाका सयौं महिलाको पीडा एकै प्रकारको छ। यहाँका लघुवित्तहरूले स्थानीयको रकममा लुट मच्चाउन थाले पनि स्थानीय सरकार र प्रशासनले कुनै मतलब नराखेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। उनले लघुवित्तका नाममा सर्वसाधारण र विपन्न महिलालाई लुट्ने र ठग्ने काम मात्र भएको बताए।

विपन्न जनतालाई चर्को ब्याज असुल्ने गरी ऋण दिनु, अनि त्यही बहानामा जनताले बचत गरेको रकम सजिलै फिर्ता नगर्नु र समूह छाड्न पनि नदिनु निकै आपत्तिजनक भएको अगुवा शाहले बताए। समूहमा बसेर ऋण लिएका र व्यक्तिगत बचत गरेका महिलाले ऋण चुक्ता गरेर समूह छोड्छु भन्दा नमान्ने र आयस्रोतको अवस्था नबुझी ऋण दिने लघुवित्तका कारण धेरै घरपरिवार बिचल्लीमा परेको स्थानीय धनसरा शाहीले बताइन्।

उनले भेरी नगरपालिका-४, को बोहरा गाउँमा मात्र ऋण लिएर चार-पाँच परिवारले गाउँ नै छोडेको बताइन् । ऋणको किस्ता तिर्न १५ मिनेट ढिलो गरे पनि हर्जना तिराउने लघुवित्तले आफूले बचत गरेको रकम माग्दा विभिन्न बहाना गर्दै ६-७ महिनासम्म झुलाउने गरेको उनले बताइन्। अहिले जिल्ला सदरमुकामस्थित लघवित्तका कार्यालयमा समूह छाड्ने भन्दै आएका दर्जनौं महिला आफूहरूलाई ठगेको र बचत रकम नदिएको भन्दै गाली गरिरहेका हुन्छन्। 

लघुवित्तका कार्यालयमा गएर दिनदिनै आक्रोश पोखे पनि स्थानीय प्रशासन, स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कनै चासो नदिएको उनीहरूको गुनासो छ। नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त केसीले जिल्लामा रहेका लघुवित्तले निरक्षर र सोझा महिलालाई विभिन्न बहानामा ठग्ने, दुःख दिने र आपतमा पार्ने काम गरेको बताए। 

आफूले भेरी नगरपालिका र नगलागाड नगरपालिकाभित्रका धेरै महिला लघुवित्तका कारण अप्ठेरोमा परेको र लघुवित्तका कारण महिलामा एक प्रकारको त्रास पैदा भएको देखेको उनले बताए। महिला र स्थानीय समुदायको आर्थिक समृद्धिमा सहयोग पुयाउने उद्देश्यले स्थापना भएका लघुवित्तका कारण धेरै परिवारको उठिबास भएको स्थानीय सरोकारवाला बताउँछन्।

जिल्लामा अहिले विभिन्न १० वटा लघुवित्तले काम गरिरहेको र ती संस्थामा २-३ सयभन्दा बढी महिला समूह आवद्ध रहेको पाइएको छ। जिल्लाभरका पाँच हजारभन्दा बढी महिला आवद्ध ती संस्थाले ऋणमा १८ प्रतिशत ब्याज लिने र महिलाले गरेको व्यक्तिगत बचतमा आठ प्रतिशतमात्र ब्याज दिने गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस