aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

के गर्छ पुलिसले बरामद लागुऔषध ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
के गर्छ पुलिसले बरामद लागुऔषध ?

काठमाडौं। प्रहरीले लागुऔषधको सेवन तथा कारोबार गर्ने विभिन्न व्यक्तिहरूबाट प्रया: हरेक दिन लागुऔषध बरामदगर्दै आएको छ। अवैध रूपमा कारोबार हुने चरेस, अफिम, कोरेक्स, डाइलेक्स, ट्याबलेट, हेरोइन, एम्पुल, एमफटामाइनलगायत लागुऔषध कहाँ लगिन्छ ? 

धेरैलाई लाग्छ प्रहरीले नै नष्ट गर्छ वा कार्यालयमा राख्छ। अझ केहीले त प्रहरीले नै प्रयोग गर्ने गरेको आरोप लगाउने गरेको छ। विभिन्न समयमा फेला परेको लागुऔषध नष्ट गर्ने तरिका भने फरक छ। प्रहरी एक्लैले बरामद भएको लागुऔषध नष्ट गर्दैन । त्यसो गर्न पनि पाउँदैन । अनुसन्धान अधिकारी र अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधिको रोहवरमा नष्ट गर्ने गरिन्छ।

नष्ट गर्नुपूर्व मुचुल्का उठाउनुपर्छ। लागुऔषध ऐन २०३३ अनुसार अनुसन्धानको सिलासिलामा बरामद गरिएको लागऔषध १५ दिनभित्र नष्ट गर्नुपर्छ । नष्ट गर्दा अनुसन्धान अधिकारी, सम्बन्धित अदालतको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, स्थानीय तहको प्रतिनिधिलगायतको सहभागिता हुनैपर्ने कानुनी व्यवस्था छ।

प्रहरीका अनुसार बरामद गरिएका सामग्री १० वर्ष अघिसम्म अदालत बाहिर नष्ट गरिन्थ्यो। अदालतको सम्बन्धित व्यक्तिलाई साक्षि राखेर लागुऔषध नष्ट गरिन्थ्यो । अहिले लागुऔषध नष्ट गर्न अदालतले नै ठाउँ उपलब्ध गराएको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसपी बसन्त लामाले प्रहरीले बरामद गरेको लागुऔषध र अन्य सामग्री (फिजिकल इभिडेन्स) अदालमा लगेर नष्ट वा स्टोर गरेर राखिने जानकारी दिए । 

उनले फिजिकल इभिडेन्स अनुसन्धानका लागि अदालतमा राखिने बताए। 'पहिले-पहिले प्रहरीसँग नै राख्नुपर्थ्यो। बीचमा दुरुपयोग भयो भनेर हल्ला चल्यो, त्यसपछि अदालतले नयाँ प्रहरीसँग नष्ट गर्न नपाइने नियम लागु गर्यो,' उनले भने, 'अहिले सम्बन्धित अदालतमै लागुऔषध नष्ट गरिन्छ।' 

उनका अनुसार अभियुक्तबाट बरामद गरिएका 'फिजिकल इभिडेन्स'का रूपमा प्रयोग गरिन्छ। प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार २०७५/०७६ मा एक हजार तीन सय ५९ केजी गाँजा, ३१ केजी अफिम, तीन हजार ६३ बोत्तल कोरेक्स, दुई हजार ६ सय ५९ केजी चरेस, २२ हजार ६ सय २६ वटा ट्याबलेट, ११ केजी हेरोइन, दुई लाख ९४ हजार ७ वटा एम्पुल, ९३ केजी एमफेटामाइन बरामद गरिएको थियो। 

यी सबै लागुऔषध नष्ट गरिसकिएको प्रहरीको भनाइ छ। लागुऔषधमा संलग्न पाँच हजार तीन सय ५७ जना नेपाली र दुई सय एक जना विदेशीलाई पक्राउ गरी कारबाही अघि बढाइएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस