
काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदै थप २५ वर्षको लागि सम्झौता भएको छ । गत बैशाख ५ गते नेपाल ट्रष्ट कार्यालय र यती समूह अन्तर्गतको एल.एम. सभिर ब्रदर्स प्रालि.बीच थप २५ वर्ष भाडामा लिएको सम्झौता भएको शुक्रबार पत्रकार सम्मेलन गर्दै जनाकारी दिएको हो ।
गोकर्ण रिसोर्ट यती समूहलाई लिजमा दिने निर्णय विवादमा परेपछि नेपाल ट्रष्टले कानुनविपरीत काम नगरेको उनले दाबी गर्दै पत्रकार सम्मेलन गरेको हो ।
सम्झौता अनुसार यती समूहले २ हजार ७ सय ९२ राेपनी ३ पैसा १ दाम नेपाल ट्रष्टकाे जग्गा अाउँदाे ३० वर्षसम्म भाेगचलन गर्ने भएकाे छ ।
सम्झौता पश्चात सुभिर ब्रदसले उक्त क्षेत्रमा २९ करोडको लागतमा ४८ कोठे शयन कक्ष ४०० जना क्षमताको कन्फरेन्स हल निर्माण गर्नै जनाएको छ ।
नेपाल ट्रस्ट कार्यलयमा भएको पत्रकार सम्मेलनमा गोकर्ण रिसोर्ट पछि गाई चराउने चौर नबनोस भन्नको लागि ५ वर्ष अगाडिनै समय अवधि थप गरेको बताए ।
ट्रस्ट कार्यलयका सहसचिव राजेश्वर ज्ञवालीले सम्झौता अवधि सकिएपश्चात उक्त क्षेत्र वेवारिसे नहोस्, अन्य तवरले गौचरण नबनोस भन्ने उदेश्यले समय अगावै अवधि थपेको बताए । उनले भने ‘पछि समय अवधि थप गर्दा संरचना तयार गर्नको लागि समय लाग्ने भएकाले ५ वर्ष अगाडि नै थपको हो । पछि सुकुमबासी आएर बसे भने के गर्ने ? कमसेकम यसको समय अवधि थप गर्दा सरकारलाई त आर्थिक क्षेत्रमा सहयोग पुग्छ’ ।
उनले निजी क्षेत्रको विश्वास बढाउन सरकारी जग्गा लिजमा दिइएको बताए । उनले यती समूहलाई थप २५ वर्ष सरकारी जग्गा लिजमा दिने निर्णयले सरकारप्रति निजी क्षेत्रको विश्वास बढेको बताए ।
गोकर्ण रिसोर्ट दिँदा स्वतन्त्र मुल्यांकन गरेर तथा सरकारलाई नाफा हुने गरी दिएको उनको भनाइ छ ।
गोकर्ण रिसोटबाट अप्रत्यक्ष लाभ
गोकर्ण रिसोट सञ्चालन गर्दा अप्रत्यक्ष व्यवसायिक कर बापत रू ३ अर्ब ९ करोड लाभ हुने गर्दछ । यस रिसोटले प्रत्यक्ष अप्रत्यक्ष थप रोजगार सृजना, पर्यटन उद्योगमा टेवा, सम्पत्तिको संरक्षण, सामाजिक सांस्कृतिक प्रवर्धन भएको ट्रस्ट कार्यलयले जनाएको छ ।
गोकर्ण रिसोटबाट पुरानो बाँकी अवधि भित्र प्रत्यक्ष रूपमा ४ करोड ३१ लाख ८३ हजार २ सय रूपैयाँ लाभ भएको छ । लिज अवधि थप भएको २५ वर्षमा लिज भाडादर वापत १ अर्ब १ करोड ५१ लाख २ हजार १ सय ७० रूपैँया प्राप्त हुने ट्रस्ट कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस