aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चन्द्र ढकालले गरे महासंघमा उमेद्द्वारी घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ पुस २०७६
चन्द्र ढकालले गरे महासंघमा उमेद्द्वारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

बागलुङमा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा बागलुङ उद्योग वाणिज्य संघले प्रस्ताव गरेपछि उनले सो प्रस्ताव स्वीकार गरेका हुन्। ‘साथीहरूले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु', उनले भने।

आफू महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रूपमा देशका विभिन्न जिल्ला तथा नगरमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघ एवं स्थानीय उद्यमी साथीले आफलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेको उनले बताए। आगामी दिनमा समग्रसमग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने उनले बताए। 

'मेरो जीवन पनि तपाइँहरूको जस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट सुरु भएको हो, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा मैले बढी महसुस गर्न सक्छु', उनले भने। बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति छन्। महासंघमा यसअघि उनले दुई कार्यकाल कार्यसमिति सदस्य भई काम गरे। 

उनी आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन्। कार्गो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायत दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष छन्। उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत हुन् । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन्। उनी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन्। यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस