काठमाडौं । नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभांश लगेका छन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ मा करीब ९७ ओटा कम्पनीले यसरी लाभांश रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार यी ३ वर्षमा सबैभन्दा बढी लाभांश निजीक्षेत्रको टेलिकम कम्पनी एनसेलको प्यारेन्ट कम्पनी एमएस रेनोल्ड होल्डिङ्सले लगेको छ । रेनोल्ड होल्डिङ्सले यस अवधिमा करिब रू. ४४ अर्ब ४० करोड लगिसकेको छ । तर, त्यसयता भने पूँजीगत लाभकर चुक्ता नगरेसम्म उक्त कम्पनीले नेपालबाट लाभांश लैजान नपाउने भन्दै रकम रोकिएको छ । सर्वोच्च अदालतले गत माघ २३ गते गरेको फैसलाले एनसेलबाट लाभकर असुल नभएसम्म लाभांश लैजान नपाउने आदेश गरेको थियो ।
नेपालबाट धेरै लाभांश लैजाने दोस्रो स्थानमा सूर्य नेपाल प्रालिका लगानीकर्ता भारतको आईटीसी लिमिटेड र ब्रिटिश अमेरिकन टोबाको रहेका छन् । यी दुई कम्पनीले सूर्य नेपालबाट लाभांशका रूपमा २०७३/७४ देखि २०७५/७६ सम्ममा रू. १३ अर्ब ४४ करोड लाभांश लगेका छन् ।
नेपालबाट धेरै लाभांश लैजाने कम्पनीहरूमा सिंगापुरको काल्र्सवर्ग साउथ एशिया प्रालि (गोर्खा ब्रुअरी प्रालि), हिन्दुस्तान युनिलिभर (युनिलिभर नेपाल) वरुण वेभरेजेज इन्डिया (वरुण वेभरेज), स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायत रहेका छन् ।
यसले उद्योग, जलविद्युत्, बैंकिङ, होटललगायत क्षेत्रमा गरेको वैदेशिक लगानीबाट विदेशी लगानीकर्ताले प्रत्येक वर्ष नेपालबाट अर्बौं रुपैयाँ लाभांश लगेको देखाउँछ नै, साथै यहाँ गरिएको लगानीको प्रतिफल राम्रो रहेको पनि प्रस्ट्याउँछ ।
त्यसो त, अर्थमन्त्रीसहित सरकारी अधिकारीहरूले सार्वजनिक कार्यक्रमहरूमा पटकपटक नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले राम्रो प्रतिफल लैजाने गरेको बताउँदै आएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले केही महीनाअघि काठमाडौंमा सम्पन्न नेपाल पूर्वाधार सम्मेलनमा नेपालमा लगानी गरेका विदेशी कम्पनीले वार्षिक २५ प्रतिशतभन्दा बढी लाभांश आर्जन गरेर लैजाने अवसर भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस