aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यस कारण जान्छ झ्याप्प झ्याप्प बिजुली

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १३ पुस २०७६
यस कारण जान्छ झ्याप्प झ्याप्प बिजुली

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ। देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको छ।

आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन्। शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर इन्डक्सनजस्ता उपकरण चलाउन चाहँदा विद्युत् माग उच्च रूपले बढेको छ।

हिउँदका समयमा विगतमा तराई क्षेत्रमा कम माग हुन्थ्यो तर यो वर्ष त्यहाँको प्रवृत्ति फेरिएको छ। प्राधिकरणका अनुसार खपत तराईमा पनि खासै घटेको छैन।

नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार २०७५ पुस ११ गते साँझभन्दा ०७६ पुस ११ मा ११२ मेगावाट विद्युत् माग बढी भयो । जाडो लागेसँगै शुक्रबार नै सबैभन्दा धेरै देशभर १३३८ मेगावाट विद्युत् माग रेकर्ड भएको छ।

यसअघि लक्ष्मीपूजाका दिन एक हजार ८९ मेगावाट रेकर्ड भएको थियो । प्राधिकरणमा लोड डिमान्ड औसतमा २५ प्रतिशतले बढेको छ । बढ्दो मागको हिस्सा काठमाडौँ उपत्यकाको मात्र ४० प्रतिशत छ।

माग बढी हुँदा प्राधिकरणको स्थानीय स्तरका वितरण प्रणालीले थेग्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको हो।

लोड डिमान्ड बढ्दा कतिपय क्षेत्रमा, लो भोल्टेज तार चुँडिने, ट्रान्सफर्मर पड्कने समस्या बढेका कारण विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या आउने गरेको प्राधिकरणले जनाएको छ।

शुक्रबार मात्रै राजधानीको बानेश्वर क्षेत्रमा ३० एमभीए र स्युचाटार क्षेत्रको १५ एमभीएका ट्रान्सफर्मर जल्दा प्राधिकरणले तत्काल नयाँ जडान गरेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुनै स्थान विशेषमा एकाएक माग उच्च हुँदा स्थानीय स्तरमा यस्ता समस्या आएका हुन्।

प्रतिक्रिया दिनुहोस