aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

उच्च शिक्षा अध्ययनका लागि चार महिनामै १२ अर्ब १७ करोड बाहिरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
उच्च शिक्षा अध्ययनका लागि चार महिनामै १२ अर्ब १७ करोड बाहिरियो

काठमाडौं । उच्च शिक्षा अध्ययनकै नाममा चार महिनामै १२ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ । तर, गत वर्षको चार महिना (साउन, भदौ, असोज, कार्तिक)मा भन्दा यस वर्षको उक्त अवधिमा कम रकम उच्च शिक्षाका लागि विदेश गएको  नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको चार महिनामा १९ अर्ब ३१ करोड रुपैयाँ उच्च शिक्षा अध्ययनकै नाममा बाहिरिएको थियो ।

यसैगरी, चार महिनामै भ्रमणकै लागि २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ । गत वर्ष यो भन्दा पनि बढी रकम बाहिरिएको थियो। गत वर्षको सोही अवधिमा ३४ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्ष भन्दा यस वर्षको चार महिनामा २६.१ प्रतिशतले कमी आएको छ ।

नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ  । केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालु वर्षको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको गत कार्तिक महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएका हो  । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाई गरेको, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएको लगायतका कारण घुमघाम र अध्ययनका लागि बाहिरिने खर्च घटेको बताइएको छ  ।

राज्यको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले पनि विदेशी मुद्रा सटही सुविधामा कडाइ गरेको छ । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी मातहतको मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ  । यसले पनि विदेशमा अध्ययन र भ्रमणमा जानेमा कमी आएको अनुमान गरिएको छ ।

तर, आर्थिक वर्षको चार महिनामा विदेश अध्ययन र भ्रमणको खर्च घट्यो भन्दैमा यसलाई सुधारका रुपमा विश्लेषण गर्न नसकिने विज्ञहरुको भनाईं छ । ‘आउँदा दिनमा कस्तो प्रवृत्ति देखिन्छ, त्यसको आधारमा विश्लेषण गर्न सजिलो हुन्छ,’ एक विज्ञले भने  । भ्रमणमा हुने खर्च घटेसँगै विदेश अध्ययनका लागि बाहिरिने रकममा पनि कमी आएको छ  । 

गत वर्ष विदेशमा अध्ययनकै लागि ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको सरकारी तथ्यांक छ  । अघिल्लो वर्ष यस्तो रकम ३८ अर्ब ८ करोड रुपैयाँ थियो  । भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै हरेक वर्ष मुलुकबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको प्रतिवेदनमा जनाइएको थियो  ।

शिक्षामा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेपछि सरकारले पनि विदेशमा अध्ययनका लागि कडाइ गर्ने कि भन्ने विषयमा नीति निर्माण तहमा छलफल सुरु गरेको छ भने नैतिक रूपमा निरुत्साहित गर्न थालेको छ  । यही कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सुधार देखिन थालेको राष्ट्र बैंकको दाबी छ  ।

 चालु आर्थिक वर्षको बजेटमा विदेशी अध्ययनलाई कडाई गर्ने कि भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो  । छलफलमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत मुलुकबाट पछिल्लो समयमा रेमिट्यान्स बढ्न थालेको र विदेशमा अध्ययन गरी स्वदेश फर्किने प्रवृत्ति सुरु भएकाले भन्दै विदेशमा अध्ययनलाई कडाइ गर्ने बेला भइनसकेको निष्कर्ष निकालियो  । सोही कारणलगायत पछिल्लो समयमा दुई वटा तर्क बलियो भएपछि उक्त विषय अन्तिम समयमा बजेटमा राखिएको थिएन  ।

एकैपटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गरिँदै जाने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए  । ‘छात्रावृत्तिमा विदेशमा अध्ययन गर्न जानेलाई कुनै अप्ठेरो हुँदैन,’ ती अधिकारीले भने, ‘तर, घरबाटै सबै खर्च व्यहोर्ने गरी गरिएका विदेशी अध्ययन निरुत्साहित गर्ने नीति सरकारको छ  ।’ 

यस विषयमा निरन्तरजसो छलफल हुँदै आए पनि मुलुकको चालु खाता र भुक्तानी सन्तुलन घाटामा जान थालेपछि सरकार अलि बढी तातेको उनले बताए  । ‘नेपालमा पनि धेरै राम्रा र गुणस्तरीय स्कुल क्याम्पस छन्, ती पर्याप्त नभए अरू पनि थपौं,’ उनले भने, ‘तर, पैसा छ भन्दैमा विदेशमा धेरै पैसा खन्याउनु भएन्  ।’  


 

प्रतिक्रिया दिनुहोस