
खोटाङ । भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् ।
दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रवलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । पुनःनिर्माणको काम शुरु हुनुअगावै घर बनाएका ३५७ भूकम्पपीडितले एकमुष्ट रु तीन लाख अनुदान पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना भएको चार वर्ष पुगेको अवसरमा कार्यालयले दिक्तेलमा भएको अन्तक्र्रियामा आयोजना गरेको थियो । विसं २०७४ वैशाख ३ गतेदेखि सम्झौता शुरु गरेको पुनःनिर्माण प्राधिकरणले विसं २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो ।
भूकम्प गएको चार वर्ष बितिसक्दासमेत खोटाङमा पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको अन्तक्र्रियामा जानकारी दिइयो । पहिलो किस्तावापत रु ५० हजार रकम बुझेर अझै आवास निर्माणको काम शुरु नगर्ने लाभग्राहीको सङ्ख्या पनि उत्तिकै मात्रामा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस