
काठमाडाैं । काठमाडौं महानगरपालिकाले मंसिर २९ गतेपछि सडकमा बेसहारा, अभिभावक विहीन, सहयोगापेक्षी, सडक आश्रित मानव नदेखिने घोषणा गर्याे । माग्नेरहित सडक बनाउने महानगरको सो घोषणालाई सबैतिरबाट स्वागत भयो ।
बिडम्बना महानगरको गेटैमा माग्नेको ताँती घोषणा भएको दुई साता बितिसक्दा पनि उस्तै छ । महानगरले कुनै पनि बेसाहारा, अभिभावकविहीन, सहयोगापेक्षी, सडक जीवन विताइरहेका नागरिक भेटिएमा उनीहरूको तत्काल उद्दार गरी सेवा प्रदान गर्ने प्रणाली निरन्तर सञ्चालन हुने बताए पनि व्यवहारमा चाहिँ त्यस्तो हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा माग्ने देख्न पाइने छैन’ भनेर घोषणा गरेको धेरै अघि हो । तर, महानगरले भने राति सडकमा रहने बेसहारालाई मात्र उठाएर लैजाने गरेको जनाएको छ । राति चिसोको कारणले धेरैले कठिन जीवन बिताउँदै आएको हुनाले उनीहरूको व्यवस्थापन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोललको भनाइ छ ।
प्रश्न यो हो कि महानगरले राति सडकपेटीमा सुत्नेलाई मात्र लगेर उद्दार गृहमा राख्दा कसरी माग्नेको संख्या घट्छ जबकी माग्नेहरु दिउँसो सडकपेटीमा हिड्ने मानिसलाई बाटो हिड्नै गाह्रो हुने गरी बाटो छेक्दै मागिरहेका हुन्छन् । उनीहरुको व्यवस्थापनमा महानगर पन्छिनुको कारण के हो ? त्यस्ताको व्यवस्थापन केही समयपछि मात्र भन्ने बाक्यभित्र के त्यस्तो बाध्यता छ ? राति सडकपेटीबाट ३६७ जनाको उद्दार हुँदा दिउँसोका माग्ने एउटा पनि नउठाइनुको कारण के हो ? यस्ता धेरै प्रश्न अनुत्तरित छन् ।
भन्नलाई त महानगरपालिकाले माग्नेमुक्त भनेर घोषणा गरेको लगभग दुई साता भइसकेको छ । तर, माग्नेको संख्या घटेको जस्तो भान सडकपेटीमा हिँड्नेले गरेका छैनन् । महानगरपालिकाले भने यो अन्तरालमा ३६७ जना बेसहारा र अभिभावकविहीनलाई व्यवस्थापन गरेको जनाएको छ । महानगरले जनाएअनुसार उसले गरेकामध्ये १४५ जनालाई घरपरिपारको जिम्मा लगाएको छ ।
नौ जनालाई भने उपचारको लागि अस्पताल पुर्याएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
उपचारमा पठाएको ९ जनामध्ये ४ जनालाई क्षयरोग भएको देखिएको छ भने ५ जनालाई सामान्य उपचारको लागि पठाएको छ । उपचारको खर्च महानगरले नै गर्ने छ ।
कहाँ–कहाँ छ माग्नेको चाप ?
काठमाडौंको मुटु मानिने रत्नपार्क आसपासका क्षेत्रमा सबैभन्दा धेरै माग्ने देखिन्छन् । कोही हात थाप्दै त कोही कचौरा बोकेर बसिरहेका छन् । तिनीहरुले प्रधानमन्त्री र महानगरको महानगरको घोषणालाई जिस्काइरहेको भान हुन्छ, पैदल यात्रीलाई ।
सधैंजसो भीडभाड हुने सबैको सुन्धारामा त्यति कै मात्रामा माग्ने देख्न पाइन्छ । कति मानिसको खुट्टा समातेर माग्नेले हैरान पारेको देखिन्छ भने कसैले स्वइच्छाले भिखारीलाई पैसा दिइरहेको देखिन्छ । महानगरको दाबी भने अर्कै छ, ‘बाटोमा माग्न बसेको देख्ना साथ प्रहरीले उठाएर लैजाने गरेको छ ।’ तर, सुन्धारानजिक एक बृद्ध महिला अझै त्यही ठाउँमा हात लम्काउँदै पैसा मागिरहेकी अहिले पनि देख्न सकिन्छ जो लामो समयदेखि त्यहिँ बस्ने गरेकी छिन् । त्यो ठाउँमा न प्रहरीको आँखा गएको छ न महानगरको ।
महानगरपालिकाभित्र लामो समयदेखि एकै स्थानमा बसेर माग्ने मानिस देख्न सकिन्छ । सुन्धारा अगाडि लामो समयदेखि एक खम्बालाई अडेस लगाएर एक बृद्धा हात फैलाउँदै मागी रहेकी छिन् । कयौं मानिसले उनलाई लत्याउँदै हिडिरहेका छन् । महानगरले आफ्नै कार्यालय भवन नजिकै ती महिलालाई न देखेको हो वा बेवास्था गरेको हो ? त्यस्तै, न्युरोड गेट अगाडि एक पुरूष पनि डमरू बजाउँदै मागिरहेका भेटिन्छन् । उनको घँुडा भन्दा तलको अंग छैन । उनले एक हातले डम्बरू बजाउँदै आफू अगाडि पैसा थप्न कचौरा राखेका छन् । त्यो बाटोमा हरेक मिनेटमा प्रहरीदेखि नगर प्रहरीलगायत कयौं मानिसको आवातजावात हुने गर्दछ । उनले बजाएको डमरूले टाढैबाट संकेत गर्छ की उनी भिखारी हुन् । तर, महानगरका कर्मचारी र प्रहरी दुवैले त्यो दृश्य नदेख्नु र आवाज नसुन्नु आफैंमा अचम्मलाग्दो छ ।
त्यस्तै गौशाला प्रहरी चौकीको सामुन्ने एक महिला कचौरा थापेर मागी रहेकी हुन्छिन् । भीडभाड हुने ठाउँमध्ये गौशाला पनि एक हो । तर उनलाई न प्रहरी न त महानगर कसैले देखेको छैन । उनी बसेको लगभग २०० मिटरको दूरीमा महानगरको वडा कार्यलय रहेको छ । उनीमाथि महानगरको र प्रहरीको ध्यान किन गएन वा बेवास्था गर्नुको कारण के हो ?
के थियो घोषणा ?
भिखारीमुक्त महानगर बनाउने घोषणा गर्दा यो कार्यक्रम निरन्तर सञ्चालन गरिने बताइएको थियो । केही समयपश्चात हप्तामा २ दिन सामृहिक उद्दार गर्ने भनिएको थियो । जनचेतनामुलक कार्यक्रम निरन्तर सञ्चालन हुने र कुनै पनि नागरिक वेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी, सडक जीवन बिताइरहेको देखे उनीहरूको तत्काल उद्दार गरी सेवा प्रदान गर्ने प्रणालीको घोषणा भएको थियो । तर, घोषणा गरे अनुसारको काम महानगरले गर्न सकेको छैन। घोषणा गरेका दुई हप्ता सम्ममा रत्नपार्कका मात्र भिखारी हटाउन नसक्नु आफैमा लजास्पद अवस्था हो ।
यस विषयमा महानगरसंँग जिज्ञासा राख्दा महानगरका अधिकारीको प्रतिक्रिया यस्तो छ, ‘खोइ हो र कहाँ छ हामीले त देखेको नै छैन।’ अचम्म त यो छ कि ७७ जिल्लाका मानिसको उपस्थिति हुने ठाउँमा कयांै मानिस मन्दिरमा देउतालाई पैसा चढाएजस्तै पैसा फाल्दै हिडिरहेका छन् । तर, महानगरपालिकाले त्यो देखेकै छैन ।
प्रतिक्रिया दिनुहोस