
नयाँ दिल्ली । रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकांत दासले ‘कोब्रा इफेक्ट’ को चर्चा गरेसंँगै कतै भारत आर्थिक मन्दीको दलदलमा नराम्रो गरी फँसेको त होइन भन्ने प्रश्न उब्जिएको छ । आर्थिक मन्दीबाट भारतले बाहिर निस्कन गरेका हरेक प्रयत्न एकपछि अर्काे गर्दै असफल भएको पृष्ठभूमिमा गभर्नरको पछिल्लो अभिव्यक्तिले धेरै आशंकाहरु जन्माएको छ ।
बिगत केही महिनाका आर्थिक आँंकडाले भारतको अर्थतन्त्रमा व्यापक सुस्तता आएको देखाएको छ । यही अवस्था रहिरहँदा गभर्नर शक्तिकांत दासले वित्तीय स्थिरता रिपोर्टको २०औं संस्करणको भूमिकाले ‘कोब्रा इफेक्ट’को अवस्था उत्पन्न गराएको बताएका हुन् । उनले देशको अर्थतन्त्र पूरा क्षमताका साथ चलाउन र त्यसको दक्षता बढौं भारतका सबै बैंक र कम्पनीले आफ्नो सञ्चालन व्यवस्थामा सुधार ल्याउनुपर्नेमा जोडदिएका छन् ।
के हो ‘कोब्रा इफेक्ट’ ?
जब कुनै पनि समस्या समाधानको लागि गरिएका प्रयत्नले त्यो समस्यालाई झन् बढाउँछ त्यो अवस्थालाई ‘कोब्रा इफेक्ट’ भनिन्छ । अर्थतन्त्रमा यो शब्दको प्रयोग त्यो बेला हुन्छ जब सुस्तता छाउँदै गरेको अर्थतन्त्रलाई त्यसबाट बाहिर निकाल्न गरिएको प्रयासले सुस्ततालाई झन् बढाउँछ । अर्थात झन् नयाँ समस्या उत्पन्न गराउँछ ।
यो शब्दको उत्पतिसमेत भारतबाट नै भएको हो । ब्रिटिस शासन कालमा दिल्लीमा रहेका बिषालु सर्प मार्न र त्यो क्षेत्रलाई बिषालु सर्पमुक्त क्षेत्र बनाउन अंग्रेज सरकारले आम मानिस लाई बिषालु सर्प मार्दा नगद पुरास्कार दिने योजना अगाडि सार्याे । तर, हजारौं सर्प मार्दासमेत बिषालु सर्पको संख्या घटेन । पछि उनीहरुले अनुसन्धान गर्दा के थाहा पाए भने पैसाको लोभमा मानिसले घरमा बिषालु सर्प पाल्ने गरेका रहेछन् ।
त्यसपछि सरकारले नगद प्रोत्साहनको योजना अन्त्य गर्याे । मानिसले जब सर्पबाट पैसा पाइंँदैन भन्ने थाहा पाए उनीहरुले पालेका सबै सर्प छाडिदिए । फलस्वरूप बिषालु सर्पको संख्या पहिलेको भन्दा बढेर भयावह रुप लियो । जे रोक्न प्रयत्न भएको थियो त्यो समस्या झन् बढ्यो । यही घटनापछि ‘कोब्रा इफेक्ट’ शब्द यस्तो बिशेष परिणामको लागि प्रयोग हुँदै आएको छ ।
यसरी देखियो ‘कोब्रा इफेक्ट’
भारतीय सञ्चार माध्यमले जनाएअनुसार गभर्नर दासले मौद्रिक नीतिको वास्तविक लाभ अर्थ व्यवस्थामा पर्नुपर्ने कुरामा जोड दिँंदै ‘कोब्रा इफेक्ट’को कुरा गरेका हुन् । उनको भनाइ थियो–‘कहीं यस्तो नहोस् कि वित्तीय बजारका लागि मौद्रिक नीतिले गरेको प्रयत्न महत्वहीन बनोस् । त्यसैले हामी कोब्रा इफेक्टप्रति लिएर सतर्क हुनु जरुरी छ ।’
स्मरण रहोस्, भारतको केन्द्रीय बैंकले आर्थिक वृद्धिमा देखिएको सुस्तता कम गर्न यो वर्ष रिपो रेटमा १.३५ प्रतिशतले कटौती गरेको छ । यसपछि नीतिगत दर ५.१५ प्रतिशतमा आयो जुन बिगत ९ वर्षमा सबैभन्दा न्यून हो । तर, त्यसको बाबजुत कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४.५ प्रतिशतमा झर्याे ।
अर्थतन्त्रलाई गतिदिन आरबीआईले गरेका सबै प्रयत्न असफल बनेका छन् । बरु भारतीय अर्थतन्त्र झन्–झन् सुस्त बन्दै गएको छ । गभर्नरले घरेलु र बाह्य कारणले गर्दा जीडीपी वृद्धि घटेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस