
पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका छन्।पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ। तिनमा प्रहरीहरू पनि छन्। अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्।
प्रारम्भिक विवरणहरूका अनुसार विस्फोटन दाता दरबार सुफी दरगाहनजिकै भएको थियो। विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू पुगेका छन्।
रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन। शिया र सुन्नी दुवै सम्प्रदायका हजारौँ मुसलमानहरू सो दरगाहमा प्रत्येक वर्ष जान्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।
सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो। इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।
सन् २०१४ मा तालिबानले पेशावरस्थित विद्यालयमा आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो। त्यसपछि पाकिस्तानले अतिवादी लडाकु समूहविरुद्ध कारबाही सुरु गर्यो। अहिले सुरक्षास्थितिमा सुधार आए पनि देशमा लडाकु समूहरहरू सक्रिय छन्। सन् २०१६ मा लाहोरमा इस्टर पर्व मनाउन भेला भएका इसाईहरूलाई लक्षित एउटा विस्फोटनमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस