aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बयान फेर्दा कानुनको कठघरामा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, १४ पुस २०७६
बयान फेर्दा कानुनको कठघरामा

दाङ । तुलसीपुरकी सिम्रन(नाम परिवर्तन) ले आफूमाथि एक किशोरले बलात्कार गरेको भन्दै गत असार १६ गते जिल्ला अदालतमा मुद्दा हालिन्। २०७४ जेठ २६ गतेदेखि २०७५ चैतसम्म आफूलाई पटकपटक बलात्कार गरेको भन्दै उनले अदालतसमक्ष न्यायको माग गरिन्। सोही मुद्दाका आधारमा आरोपित किशोरलाई प्रहरीले नियन्त्रणमा लियो। असार १६ गते अदालतमा परेको उक्त मुद्दा असोज ८ गतेसम्म चल्यो। तर बिडम्बना पीडित भनिएकी सिम्रनले आफैंले १५ दिन जेल बस्नुप-यो। कारण, उनले ती किशोर निर्दोष रहेको भन्दै अदालतमा बयान फेरेकी थिइन्। यो मुद्दामा बलात्कारको मुद्दा लागेका ती किशोरले सफाइ पाए।

गत असोज ८ गते जिल्ला अदालतले गरेको फैसलाअनुसार बलात्कार आरोप लगाउने सिम्रनले १५ दिन कैद भुक्तानसँगै पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने मात्र भएन आरोपित किशोरलाई १५ हजार रुपैयाँ क्षतिपूर्तिसमेत दिनुप¥यो। ‘झूटा बयान दिएपछि अदालतले उनलाई सजाय सुनाएको हो,’ जिल्ला अदालत मुद्दा फाँटकी एक कर्मचारीले फैसलाबारे जानकारी दिँदै भनिन्, ‘किशोरीले सुरुमा बलात्कार भएको भनेर बयान दिइन् तर पछि झूटो बोलेको भन्दै बयान फेरिन्।’

अदालतका अनुसार सुरुमा किशोरलाई बलात्कारीको आरोप लगाएकी सिम्रनले पछि बयान फेर्दै ती किशोर आफ्नो प्रेमी रहेको बताएकी थिइन्। उनले घरपरिवारको दबाबमा बलात्कार मुद्दा हाल्न बाध्य भएको अदालतसामु बयान दिएकी थिइन्। ‘उहाँ (किशोर) ले बलात्कार गर्नुभएको होइन, उहाँ मेरा प्रेमी हुनुहुन्छ,’ सिम्रनले बोली फेर्दै दिएको बयानमा उल्लेख छ, ‘हाम्रो उठबस गाउँका महिलाहरूले पनि थाहा पाएका थिए अनि मेरी आमालाई ती महिलाहरूले उकासेर बलात्कारको मुद्दा हाल्न दबाब दिएका थिए।’

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए उनै पीडित भनिएकाहरूमाथि नै सजायको व्यवस्था गरेको छ। सुरुमा बलात्कार गरेको भनेर आरोपसहित मुद्दा दर्ता गर्ने तर पछि झूटो बोलेको भन्दै बयान फेर्नेहरूलाई जिल्ला अदालतले कारबाही गर्ने क्रम बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस