aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्न निर्देशन

काठमाडौं । काठमाडौंमै आएर गुनासो गरेपछि कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको पिडा उपर काम कारबाही अगाडि बढाएको छ ।

सोमबार उद्योग र कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाएको थियो । पत्राचार पाएसँगै गृहमन्त्रालयले बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिएको हो । 

गृह मन्त्रालयले उखु किसानको भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्ड एग्रो ईं प्रालि र श्री अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रालिका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न मंगलबार प्रहरीलाई पत्र काटेको हो ।

विगत ११ दिनदेखि उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने माग लिएर किसान आन्दोलनमा छन्। उखु किसान मिल मालिकबाट मात्र नभएर सरकारबाट पनि ठगिएका छन् ।

सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता बाँकी रहेको उखु किसान महासंघका कपिलमूनि अध्यक्ष मैनालीले बताए ।

सरकारले आव २०७४/०७५ बाट उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। सोही अनुसार दुई आव २०७४/०७५ र ०७५/७६ को गरेर १ अर्ब ३४ करोड भुक्तानी लिन बाँकी रहेको अध्यक्ष मैनालीले बताए ।

उद्योगीले १ अर्ब २ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। उनकाअनुसार श्रीराम सुगरमिल्स, रौतहटको ४२ करोड, अन्नपूर्ण चिनी उद्योग, सर्लाहीको ५० करोड र महालक्ष्मी सुगरमिल्सको १० करोड किसानलाई बक्यौता रहेको छ ।

उखुको कटनी गर्ने बेला सर्लाहीका एक हुल किसान भने आइतबारदेखि माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् । मंसिर, पुस उखु किसानका लागि फसल काट्ने बेला हो । शरीरमा झुन्डाइएको मागपत्रमा लखिएको छ । तीन सालदेखिको उखुको भुक्तानी तुरुन्त गर ।

आइतबारदेखि माइतीघर मण्डलामा जय किसानको ब्यानर लिएर बस्ने किसानहरू साहुले ३ वर्षदेखि उखुको पैसा नदिएकाे गुनसाे गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस